‘मलाई माथिल्लो आदेश भन्दै अपहरण शैलीमा किन थुनियो ?’ : ‘कृ’ निर्माता गिरीको प्रश्न

१५ चैत्र २०७४, बिहीबार ०९:३७

चैत १५, काठमाडौं ।

चलचित्र ‘कृ’का निर्माता सुवास गिरीले आफूलाई माथिल्लो आदेश भन्दै अपराधीको शैलीमा किन थुनियो ? भन्दै प्रश्न गरेका छन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुवासले आफूलाई अपरहणको शैलीमा एक दिन हिरासतमा राखिएको र हतकडी लगाएर मेडिकल चेकका लागि लगिएको बताए ।

चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चलचित्र ‘संझना’को गीतबाट चोरिएको भन्दै यसका निर्देशक शम्भु प्रधानले प्रहरी प्रभाग, टेकुमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सुवासलाई एक दिन हिरासतमा राखेको थियो ।

शम्भुलाई ११ लाख रुपैयाँ तिरेपछि मात्र सुवासलाई हिरासतमुक्त गरिएको थियो । सुवासले पत्रकार सम्मेलनमा भने-‘म छलफलका लागि गएको मानिसलाई आइजीपी साबको आदेश भन्दै किन थुनियो ? मलाई अरु अपराधीहरुसँग बाधेर हतकडी लगाएर किन मेडिकल गर्न लगियो ?’ उनले भने-‘शम्भु प्रधानले आइजीपीको फोर्स लगाएर मलाई किन थुन्न लगाउनुभयो । उहाँ पनि एउटा निर्माता हो । तर, कसैको पनि फोनको रेस्पोन्स नगरि उहाँ किन हिड्नुभयो ?’

आफूलाई अपरहण शैलीमा थुनाएर शम्भु प्रधानले पैसाको बार्गेनिङ गरेको भन्दै सुवासले को ठिक को बेठिक भनेर दर्शकले नै छुट्याउने बताए । निर्माता सुवास गिरीले आफूमाथि अन्याय भएको भन्दै आफू यसविरुद्ध लड्ने समेत बताए । उनले, आफ्नो लडाई प्रहरी प्रशासन, राज्य, शम्भु प्रधान सबैसँग हुने पनि बताएका छन् । उनले एउटा निर्दोष मान्छे अन्यायमा परेको भन्दै यो केश अझ जटिल भएर जाने बताए ।

यस्तै, निर्माता भूवन केसीले यो घटना आफ्नो करिब ४ दशक लामो चलचित्र करिअरमै सबैभन्दा दुखद दिन भएको बताए । शम्भु प्रधानले पैसाको बार्गेनिङ गरेको भन्दै भूवनले एउटा सम्मानित मानिसले यस्तो व्यवहार देखाउँदा दुःख लाग्ने बताए ।

सुरुवातमा शम्भु प्रधानले कारोबारको ५० प्रतिशत चाहिएको भन्दै बार्गेनिङ सुरु गरेको भूवनले बताए । गीत तयार गरेको अल्मोडा राना उप्रेती सम्पर्कमै नआएको सुवासले बताएका छन् ।

आफूसँग पैसा निकाल्न सकिन्छ भन्ने सोचका कारण आफूलाई फसाइएको भन्दै सुवासले अब कानुनी लडाई लड्ने बताएका छन् । उनले, शम्भु प्रधानको नेपालमा कुनै पनि कम्पनी दर्ता नभएको भन्दै उनले कुन आधारमा उजुरी गरे र मलाई प्रहरी परिसरमै किन पैसा तिर्न लगाइयो भनेर प्रश्न गरेका छन् ?