मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइँदै, टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

१६ फाल्गुन २०७५, बिहीबार १०:१०

काठमाडौं , हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।
घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । मौसम खराब भएकाले त्यहाँबाट काठमाडौं ल्याउन कठिनाई भइरहेको जनाइएको छ ।
शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।
मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने स्रोतले जनाएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।