मन्त्रिमण्डल हेरफेरको तयारी

२८ आश्विन २०७६, मंगलवार १८:४९

काठमाडौं , प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गर्नु भएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लाग्नु भएको हो । ओलीले सोमबार बिहान दाहालसँग यो विषयमा छलफल गर्नु भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घण्टा वार्ता भएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मा भ्रमणमा जानुअघि मन्त्रिमण्डल हेरफेरको तयारी छ। ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बताएको छ ।

शिवमाया तुम्बाहाङफेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ। ओलीले सोमबार नै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो।

यौन दुव्र्यवहारको आरोपमा मुछिएका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। यो पद अन्य पार्टीलाई नछाड्न नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ।