मनाङको लगातार छैटौं जित

१९ मंसिर २०७५, बुधबार १५:१२

काठमाडौं–
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लगातार छैटौं जित हात पारेको छ। मनाङ बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेल युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित हात पार्दै जितको यात्रालाई निरन्तरता दिएको हो।

मनाङको जितमा अन्जन विष्टले निर्णायक गोल गरेका थिए। उनले खेलको ६२ मिनेटमा पेनाल्टीमा निर्णायक गोल गरेका हुन्। जावलाखेलका डिफेन्डरले मनाङका फरवार्ड ओलावाले अफिजलाई डिबक्स भित्र खराब ट्याकल गरेपछि मनाङलाई पेनाल्टीको अवसर दिइएको थिए।

खेलको अन्तिम मिनेटमा जावलाखेलले प्राप्त अवसर सदुपयोगन गर्न नसकेपछि हार खेप्न बाध्य भयो। जावलाखेलका फरवार्डको प्रयासमा मनाङका डिफेन्डर बाधक बनेका थिए। इन्जुरी टाइमको नवौं मिनेटमा जावलाखेलका ओलालेकान अफिजको उत्कृष्ट फ्रिकिङ पोस्ट लाग्नु पनि दुर्भाग्य साबित भयो।

जारी लिगको शीर्ष स्थानमा रहेको मनाङले लगातार छैटौं जितसहित १८ अंक जोडेको छ। दोस्रो स्थानको संकटाको १५ र एक खेल कम खेलेको तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबको १३ अंक छ।