मनाइन्छ अनौठो होली, रङको पर्वमा एकसाथ जन्ती र मलामी

१८ फाल्गुन २०७४, शुक्रबार १०:५१

फागुन १८, काठमाडौं । एजेन्सी

नेपाल र भारत लगायतका देशमा हिन्दुहरुले भव्य रुपमा मनाउने रङको पर्व होली भारतको एक गाउँमा भने निकै फरक रुपमा मनाइन्छ ।

भारतको राजस्थानस्थित रिंगस क्षेत्रको होली संस्कृति निकै अनौठो रहेको छ ।


उक्त गाउँमा होलीको दिन अर्थात् धुलो उडाउने दिन एकसाथ जन्ती र मलामी निकाल्ने परम्परा छ ।

अघिअघि ब्याण्ड बाजाका साथ बेहुलाको जन्ती हुन्छन् भने त्यसको पछि मृतकको शवयात्रा । मानिसहरु नाँच्दै गाउँदै र अविर लगाउँदै एकसाथ जन्ती र मलामीमा सहभागी हुन्छन् ।

सुरुमा मानिसहरु स्थानीय गोपिनाथ मन्दिर बाहिर जम्मा हुन्छन् । त्यसपछि घाँसबाट एउटा शवको आकृति बनाइन्छ र त्यसलाई लाशजस्तै गरी बोकेर शवयात्र चलाइन्छ ।

अनि जम्मा भएका मानिसमध्ये एकजनालाई बेहुलो बनाइन्छ । उसलाई उँट वा घोडामा चढाइन्छ र केही मानिस उसको जन्ती बन्दछन् ।

अघिअघि जन्ती र पछि पछि मलामी भएर अविर दल्ने र रङ हान्ने कार्य गर्दछन् । अनि भव्य रुपमा होली मनाउँदछन् ।