मध्यपश्चिम विश्वविद्यालयमा झडप, एक प्रहरी घाइते

३ असार २०७६, मंगलवार ११:२६

सुर्खेत , सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा एक प्रहरी घाइते भएका छन्। विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयको टि–सर्टमा काठकाडौंका निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन्।

काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको विज्ञापन गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। निजी कलेजको विज्ञापन गरिएका टि–सर्ट बहिष्कार गर्नु पर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरी बल प्रयोग गर्दा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ। आन्दोलनमा सहभागी विद्यार्थी नेताहरु धुपेन्द्र शाही, तिर्सना हमाल, ममता अधिकारीलगायतका दर्जनबढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।