भ्रष्टाचार भनेको देशको क्यान्सर हो, यसको समय छँदै उपचार गरौं ।

१२ कार्तिक २०७७, बुधबार ०९:५४

डा डीआर उपाध्याय,

कुनै पनि देश बिकासका लागी सुशासन नै प्रमुख सर्त हो । बिश्वका जुन सुकै देशको बिकास भएको छ , त्यो सुशासनका कारणले हो । जुन देशमा सुशासन कायम हुदैन तीे देश बिकासको हिसावमा पछाडी परेका छन । त्यसैले अव नेपालको बिकास र समृद्धि गर्ने हो भने सुशासनलाई प्रमुख सर्त बनाऔं । सुशासन कायम गर्ने भनेको धेरै भयो , तर अहिले सम्म भ्रष्टाचारमा अलिकत पनि कमी आएको छैन ।यस्तो भए पछि देश कसरी बन्छ ? चिन्ता लाग्ने बिषय यो हो । देशमा चाकरी–चाप्लुसीको राजनीति छ । परिवारवाद, नातावाद र कृपावादको राजनीतिले स्थान पाएको छ । हाम्रो मुलुक ७० वर्षको लामो सङ्घर्षका बाबजुद पनि अझै स्वाधीन, स्वावलम्बी, समृद्ध बन्न सकेन । दलहरुले मुलुकको ब्यवस्था बदल्न सके तर अवस्था बदल्न सकेनन् । यो कुरामा अझै बहस भईनै रहेको छ । ब्यवस्था बदलिएको छ , जनताको अवस्था उस्तै छ । यत्रो परिवर्तनको के मतलव । जव जनता खुशी र सुखी हुन सकेनन् भने । राजनीतिक दल र तीनका नेताहरुले जनता अल्मलाउने काम मात्र गरे । बास्तवमा देशमा जनताको चाहाना अनुसार काम हुन सकेनन् । पुराना दलहरु मात्र होइन, अहिले देखिएका नयाँ दल र तिनका नेताहरुले पनि मुलुक बनाउने विकल्प दिन सकेनन् । अव मुलुकलाई नयाँ भिजन र नयाँ मिसनसहितको राजनीतिक नेतृत्वको खाँचो छ । त्यसो भयो भने मात्र मुलुकको भाग्य र भविश्य निर्माण हुने छ । अव देश निर्माणका लागी मार्गचित्र कोर्न सक्ने भिजनरी नेता र योजनाविदको खाँचो छ । अव कुरा मात्र गरेर देश बन्दैन । देश बनाउन सवै एकजुट भएर लाग्नु पर्छ । अर्को कुरा , देश बनाउन भ्रष्टाचारलाई जरै देखि उखेलेर फाल्नु पर्छ । जव सम्म देशमा भ्रष्टाचार हुन्छ ,त्यस बेला सम्म देशको बिकास र समृद्धि हुन सक्दैन । यो बिषयमा सवै गम्भिर बनौं । भ्रष्टाचार भनेको देशको क्यान्सर हो । यसको समय छदै उपचार गरिएन भने जे पनि हुन सक्छ । अव हामी सवैले मुलुकलाई स्वावलम्बी, स्वाधीन र समृद्ध कसरी बनाउने भन्ने बिषयमा चिन्तन गरौं ।