भूकम्पपीडितले मागे दोस्रो किस्ता, दुई लाख ८८ हजार २३ जना लाभग्राहीको प्रमाणीकरण भइसक्यो

२५ फाल्गुन २०७४, शुक्रबार ०८:११

फागुन २५, काठमाडौं ।

भूकम्पले क्षति पुर्‍याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ ।

प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार तीन लाख एक हजार ८४ भूकम्पपीडितले दोस्रो किस्ता माग गर्दै निवदेन दिएका हुन् ।

पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माणकार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिनसक्ने कार्यविधि छ । लाभग्राहीले निवेदन दिएपछि प्राधिकरणले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छन् ।

दोस्रो किस्ताका लागि निवदेन दिएकामध्ये दुई लाख ८८ हजार २३ जना लाभग्राहीको प्रमाणीकरण पनि भइसकेको छ । बाँकी १३ हजार ६१ को पनि छिट्टै प्रमाणीकरण हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

‘दोस्रो किस्ता लिने समयसीमा तोकिनु, घर निर्माण गर्ने मौसम तथा सबै स्थानीय तह मातहत रहनेगरी प्राविधिक खटाइएका कारण निजी घर पुनःनिर्माण उत्साहजनक देखिएको हो,’ उनले भने ।

प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् । भूकम्प अतिप्रभावितका साथै कम प्रभावित जिल्लामा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या वृद्धि भइरहेको छ ।

कम प्रभावित लमजुङका ६५२, चितवनका ५०२ र नवलपरासीका २९ लाभग्राहीले दोस्रो किस्ताका लागि निवेदन दिएका छन् । शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइकाअनुसार बिहीबारसम्म तीन लाख ३८ हजार २९ घर पुनःनिर्माण भइरहेका छन् । एक लाख एक हजार ६९४ घर पुनःनिर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा सूचिकृत भएका पीडितलाई पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लखा ५० हजार र तेस्रो किस्तामा एक लाख दिने कार्यविधिमा उल्लेख छ ।