भारत भ्रमणमा राजेश हमाल ‘नेपालका अमिताभ बच्चन’ र दिनेश डिसी ‘शो पिस’का पात्र मात्र

२७ चैत्र २०७४, मंगलवार ०७:५५

चैत २७, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा पहिलोपटक कलाकारको सहभागिता गराइँदा सिंगो फिल्म इन्डष्ट्रीले सम्मानित महसुस गर्‍यो । कलाकारको तर्फबाट महानायक राजेश हमाल र दिनेश डीसीले यो अवसर पाएका थिए ।

तर, यी दुईको भारत भ्रमणको कुनै प्रयोजन भने देखिएन । भारतमा उनीहरुले कुनै अलग्गै विजनेस पाएनन् ।

फलत उनीहरु ‘शो पिस’का पात्र मात्र बन्न पुगे । त्यसो त प्रधानमन्त्रीको टोलीमा रहेका दुई-चार जना महत्वपूर्ण व्यक्तिहरुबाहेक अरु सबै डफ्फा बेरोजगार नै थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत जानुअघि नेपाली फिल्म इन्डष्ट्रीलाई बलिउडसँग जोड्ने भाषण गरेका थिए ।

साथै उनले भारत भ्रमणका क्रममा बलिउडका कलाकर्मीसँग अन्तरक्रियाको कार्यक्रम रहेको पनि बताएका थिए । भ्रमणमा राजेश हमालको सहभागितालाई यसैसँग जोडेर हेरिएको थियो ।

तर, नेपाली दूतावासले पहल नगरेको हो कि नसकेको हो, भ्रमण तालिकामा त्यस्तो कुनै कार्यक्रम राखिएको थिएन । बरु नेपाली कलाकारहरुको सम्मानमा इम्पेरियल होटलमा राखेको रात्रीभोजमा केही कलाकारहरुलाई निमन्त्रणा गरिएको रहेछ । तर, त्यहाँ पनि चिनिएका कलाकार राजपाल यादव मात्रै देखिए ।

सोही रात्री भोजमा भारतीय जनता पार्टीका नेता विजय जोलीले राजेश हमाललाई ‘नेपालका अमिताभ बच्चन’ भन्दै अरुलाई चिनाइरहेका थिए । सो कार्यक्रममा उपस्थित नेपालीहरु हमालसँग सेल्फी खिच्न तँछाडमछाड गरिरहेका देखिन्थे । अर्का कलाकार दिनेश डिसी भने खासै नोटिसमा परेनन् ।

उच्चस्तरीय भ्रमणमा कलाकारलाई स्थान दिइनु प्रधानमन्त्री ओलीको नयाँ र सुखद अभ्यास हो । तर, उनीहरुको विज्ञता आवश्यक पर्ने कुनै बेग्लै कार्यक्रम नहुँदा यो अभ्यास औचित्यपूर्ण भने बन्न सकेन ।

भारत भ्रमणबाट फर्किएका दिनेश डिसीले भ्रमण सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

साथै, राजेश हमालले अवसर आएमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी लिन तयार रहेको समेत बताएका छन् ।