भारतीय प्रहरीबाट नेपाली नागरिक अपहरण गरेर फिरौती माग, ६ दिनपछि अपहरणमुक्त

१२ चैत्र २०७४, सोमबार ०८:३७

चैत १२, काठमाडौं ।

भारतको तिकुनियाबाट भारतीय अर्धसैनिक बल स्पेशल टास्क फोर्स (एसटीएफ) बाट अपहरित एक नेपाली ६ दिनपछि अपहरणमुक्त भएका छन् ।

नियन्त्रणमा लिएपछि उनीसँग १२ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो । बन्धक बनाई फिरौती मागिएकाे कुरा बाहिर आएपछि एसटिएफको टोलीले नाटकीय ढंगले गुपचुप रुपमा गौरीफन्टाबाट ती नेपाली नागरिकलाई मुक्त गरेको हो ।

पोखराबाट कामको सिलसिलामा चैत ६ गते कैलालीको टीकापुर पुगेका लेखनाथ महानगरपालिका-४ऽ चिप्लेढुंगाका ६३ वर्षीय कुतवद्धिन मियालाई टीकापुर आएकै दिन तिकुनियाबाट एसटीएफको टोलीले नियन्त्रणमा लिई परिवारजनसँग फिरौती माग गरेको थियो ।

उनलाई भारतीय मुलका दुईजनाले तिकुनिया घुमाउन भनेर लगेको र सोही दिन तिकुनियास्थित भारतीय प्रहरी चौकीबाट गएको एसटिएफको टोलीले गाडीमा राखेर लगेको बताइएको छ ।

स्रोतका अनुसार, उनी घुम्नका लागि टीकापुरबाट लैजाने भारतीय मूलका व्यक्तिहरुकै मिलेमतोमा एसटिएफबाट अपहरित भएका हुन् ।

नाटकीय ढंगले अपहरणमा परेका उनी नाटकीय ढंगले मुक्त भएका छन् । उनको अपहरण र मुक्ति पनि रहस्यमय छ । उनलाई शनिबार साँझ भारतीय प्रहरीले गौरीफन्टा नाकाको कोतवालीबाट मुक्त गरेको हो । उनका ज्वाइँ भारतीय रुपैयाँसहित पक्राउ परेपछि मात्र अपहरणको पाटो बाहिर आएको हो ।

उनको रिहाइका लागि पोखराबाट आएका छोरीहरु र ज्वाइँले फिरौतीबापतको रकम समेत बोकेर आएकाे बताएका छन् । त्यही फिरौतीको रकम बुझाउन गौरीफन्टा जान खोज्ने क्रममा ज्वाइँ रिजुद डे चैत ९ गते ८ लाख भारतीय रुपैयाँसहित एसएसवीद्वारा नाकामा पक्राउ परे । त्यसपछि मात्र मिया अपहरणको घटना बाहिर आएको थियो ।

तिकुनियाबाट अपहरण गर्ने एसटिएफएको टीमले उनलाई फिरौतीबापतको रकम लिएर गौरीफन्टामा आउन भनेका थिए । एसटिएफएमको त्यही चेतावनीपछि मियाँका परिवारका सदस्यले फिरौतीबापत माग गरिएको रकमको जोहो गरेर पोखराबाट धनगढी आएको बताए ।

अपहरण मुक्त भएपछि मिया सपरिवार आइतबार बिहान गृहनगर पोखरा फर्किएका छन् । बुवा अपहरण मुक्त भएपछि छोरा, छोरी र ज्वाइँ अत्यन्त खुशी भए पनि फेरि के हुने हो भन्ने डरले चुपचाप घर फर्केका छन् । उनीहरुले अपहरण गर्ने कसैका बिरुद्ध उजुरी दिएका छैनन् ।