भारतीय प्रधानमन्त्री मोदी अरुण तेस्रो आयोजना शिलान्यास गर्न नेपाल आउँदै

१७ आश्विन २०७४, मंगलवार ०४:३०

१७ असोज, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने प्रायः निश्चित भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

मोदीले करिब १ खर्ब १६ अर्ब लागतको ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको शिलान्यास गर्ने गरी परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरेको बताइएको छ । सो आयोजनाको शिलान्यास प्रधानमन्त्री शेरबहादुर देउवासहित संयुक्त रूपमा हुने जनाइएको छ ।

मोदीको भ्रमणलाई उनको छिमेकीसँगको समुधुर सम्बन्ध कायम गर्ने नीति अन्तर्गतको भ्रमणका रूपमा लिइएको छ । संविधान घोषणासँगै नेपालमाथि भारतले गरेको एकतर्फी अघोषित नाकाबन्दीपछि नेपाल र भारतबीचको सम्बन्ध खलबलिएको थियो । तर पछिल्लो समयमा फेरि सकारात्मक हुँदै गइरहेको सम्बन्धका बेला उनी तेस्रो पटक नेपाल आउन लागेका हुन् ।

आयोजनामा भारतीय कम्पनी सतलजको लगानी रहेको छ । उसले आगामी २५ वर्षका लागि अरुण तेस्रोको विद्युत् उत्पादन गर्ने र आयोजना बनेपछि नेपालले निःशुल्क बिजुली, करलगायतबाट २५ वर्षमा साढे ३ खर्बभन्दा बढी रुपैयाँ लाभ हासिल गर्नेछ । आयोजना प्रभावित स्थानीयले ६ प्रतिशत (८० लाख हाराहारी कित्ता) सेयर पाउनेछन् । यसबाट प्रभावित हुने साविकका ६ गाविसमा सतलजले निःशुल्क विद्युतीकरण गरिदिनेछ ।

प्रतिस्पर्धाबाट सबभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना निर्माणको जिम्मा लिएको हो ।