भारतीय कर्मचारीले नेपाली मजदुरमाथि कुटपिट  

२४ माघ २०७४, बुधबार ०९:००

माघ २४, काठमाडौं ।

भारतको सिमलास्थित रामपुरको सतलुज नदीबाट अवैध रुपमा बालुवा निकालेको आरोपमा नेपाली मजदुरमाथि वन विभागका कर्मचारीले कुटपिट गरेका छन् ।

कुटपिटको भिडियो भाइरल भएको छ । भिडियोमा नेपाली मुलका दुई युवकमाथि कर्मचारीले लउरो र लात्ताले बेस्सरी कुटेको देखिन्छ ।

भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा वन विभागको कार्यप्रणालीमाथि प्रश्न उठाउन थालिएको छ । विभागका कर्मचारीले बालुवा निकाल्ने व्यक्तिलाई यसरी कुटपिट गरेको यो पहिलो घटना नभएको बताइन्छ ।

यसअघि पनि नेपाली मूलकी एक महिलालाई वन विभागका कर्मचारीले दुर्व्यबहार गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

घटना सार्वजनिक भएलगत्तै त्यहाँका सामाजिक संस्था एवं मजदुर संगठनले घटनाको कडा भत्सर्ना एवं निन्दा गरेका छन् ।

उनीहरुले यो घटनलाई अत्यन्तै लज्जास्पद र अमानवीय भनेका छन् । सीटु संगठनले मजदुरमाथि शारीरिक दुर्व्यबहार गर्ने कर्मचारीलाई तुरुन्त कारबाही गर्न माग गरेको छ ।

तुरुन्त कारबाही नभए आन्दोलन गर्ने समेत संगठनले चेतावनी दिएको छ । सीटुका जिल्ला अध्यक्ष बिहारी सेवगीले भने, ‘वनका कर्मचारीले कानुनलाई आफ्नो हातमा लिएका छन् । यदि मजदुरले अपराध गरेका थिए भने कानून अनुसार कारबाही गरिनु पर्थ्यों। कानुनी बाटो त्यागेर मजदुरमाथि दुर्व्यवहार गर्ने कर्मचारीमाथि कडा कारबाही हुनुपर्छ ।’