भारतीय कम्पनीले नेपाल–भारत सीमा क्षेत्रमा अतिक्रमण पछि विवाद

१३ असार २०७५, बुधबार ०५:५२

असार १३, काठमाडौं ।

भारतीय निर्माण कम्पनीले नेपाल–भारत सीमा क्षेत्र दशगजा अतिक्रमण गर्दै माटो निकाल्न थालेको छ । एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको नाममा दशगजा अतिक्रमण गरी माटो निकाल्न थाले पछि भारतीय निर्माण कम्पनी र स्थानीयबीच विवाद उत्पन्न भएकाे छ ।

नेपाल–भारत सीमामा निर्माण हुने एकीकृत जाँच चाैकी निर्माणकाे जिम्मा भारतीय कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालि अहमदावादले पाएको छ । जाँच चाैकी निर्माणका लागि अावश्यक पर्ने माटाे अन्य ठाउँबाट ल्याउनुपर्नेमा भारतीय कम्पनीले दशगजा क्षेत्रकाे जग्गा खन्न थालेकाे हाे ।

निर्माण कम्पनीका इन्जिनियर अवधेशकुमार साहसहितको टोलीले डाेजर ल्याएर विराटनगर महानगरपालिका १८ को भेडियारीमा निर्माण भईरहेको आईसीपीको पश्चिम दक्षिण क्षेत्रमा पर्ने दसगजामा नेपालतर्फकाे जग्गा खन्न थालिएपछि आन्दोलनमा उत्रिनु परेको स्थानीय निरज यादवले बताए ।

नेपाल–भारत सीमा क्षेत्रको दशगजामा कुनै पनि देशले आफ्ना गतिविधि संचालन गर्नु परे दोहोरो सम्झौता र सहमतीको आधारमा गर्ने अन्तराष्ट्रिय प्रचलन छ ।

तर त्यसको खिल्ली उडाउँदै भारतीय निर्माण कम्पनीको एकजना इन्जिनियरले नेपाल र भारतको सीमा नै अतिक्रमणमा पर्नेगरी शुरु गरिएकाे गतिविधि गलत भएकोले प्रतिकारमा उत्रिएका स्थानीय बिनोद मण्डलले बताए । उनका अनुसार भारतीय पक्षले डोजर लगाएर खन्न आएपछि स्थानीयहरु प्रतिकारमा उत्रिएका हुन् ।

स्थानीयकाे विराेध पछि सीमा सुरक्षामा खटिएकाे सशस्त्र प्रहरीले भारतीय पक्षलार्इ त्यहाँबाट हटाएकाे छ ।