भारतले पाम तेलको लाइसेन्स खुलाउने

२९ फाल्गुन २०७६, बिहीबार १०:२०

काठमाडौं, पाम तेल आयातकर्ताको लाइसेन्स रोकेको भारत पुनः लाइसेन्स दिन सकारात्मक भएको छ ।

डेढ महिनाअघि पाम तेल निर्यातमा प्रतिबन्ध लगाएको भारतले केही समयअघि मात्रै लाइसेन्स लिएर मात्र आयात गर्न सक्ने गरी खुकुलो बनाएको थियो। त्यसको केही समयमै लाइसेन्स रोकेको भारतले यो प्रक्रिया पुनः सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले जानकारी दिए ।

हालैको आफ्नो भारत भ्रमणको क्रममा त्यहाँका उद्योग, वाणिज्य राज्यमन्त्री हरदिप सिं पुरीले लाइसेन्स दिने प्रक्रिया तुरुन्त खुलाउने प्रतिबद्धता दिएको बताए। भेटमा आफूले कच्चा पाम तेल ल्याएर नेपालबाट ३२ प्रतिशतसम्म मूल्य अभिवृद्धि गरेर मात्र भारत निर्यात गरिएको प्रस्ट पारेको राज्यमन्त्री दुगडको भनाइ छ । “भारतमा पनि कतिपय समूह पाम तेल आयातमा प्रतिबन्ध लगाउन लबिङ गरिरहेको थाहा पाएँ’ उनले भने “नेपालको व्यापार घाटा धेरै रहेको र पाम तेल धेरै निर्यात हुने वस्तु भएकाले त्यसमा सहजीकरणका लागि भारतीय राज्यमन्त्रीसँगको छलफलबाट सकारात्मक प्रतिक्रिया आएको हो ।”

भारत विश्वमै सबैभन्दा ठूलो पाम तेल आयातकर्ता देश हो । चालू आर्थिक वर्षमा इन्डोनेसिया र मलेसियाबाट कच्चा पाम तेल आयात गरेर नेपालमै प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएको थियो । चालू आवकै छ महिनासम्म नेपालबाट धेरै निर्यात हुने वस्तुमा पाम तेल शीर्ष स्थानमा छ । भारतले पाम तेल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यातमा ठूलो असर परेको थियो ।

भेटका क्रममा भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएको विषयमा छलफल भएको र नेपालमा औषधि पठाउन भारतीय पक्ष सकारात्मक रहेको पनि राज्यमन्त्री दुगडले जानकारी दिए । औषधि निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाललाई त्यसमा नसमेटुन गरेको आग्रहमा राज्यमन्त्री पुरीले तत्काल नै औषधि खुला गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । यसबाहेक भारतबाट नेपाल काउन्टर भेलिङ ड्युटीबापत प्राप्त गर्नुपर्ने कर फिर्ता विगत चार महिनादेखि रोकिएकोमा यसलाई रोक्न नदिने प्रतिबद्धता पनि प्राप्त भएको उहाँले जानकारी दिए ।
(आजको गोरखापत्र दैनिकबाट)