भारतको राजस्थानमा सवारी दुर्घटनाः११ जनाको मृत्यु २० जना घाइते

२ मंसिर २०७६, सोमबार १५:१४

नयाँ दिल्ली , सोमबार भारतको राजस्थान राज्यमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार विहानको समयमा दुर्घटना भएको हो ।
‘एउटा बस र एउटा ट्रक आज विहान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्, ११ जनाको मृत्यु भएको छ भने अरु २० जना घाइते भएका छन्,’ एक प्रहरी अधिकारीले भने । उनका अनुसार घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ र तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकिएको र दोषीलाई कारबाही हुने जनाएको छ । भारतमा यस्ता सवारी दुर्घटनाका कारण बर्सेनि हजारौँको मृत्यु हुने गरेको छ । चालकको लापर्वाही, खराब अवस्थाको सडक र पुराना सवारी साधनलगायतका कारणले भारतमा धेरै सवारी दुर्घटना हुने गरेको छ ।