भारतको कलेजमा नेपाली विद्यार्थीद्वारा आत्महत्या, विद्यार्थीको प्रदर्शनमा कलेज तथा प्रहरीले हस्तक्षेप गरी कुटपीट

१ चैत्र २०७४, बिहीबार १२:११

चैत १, काठमाडौं ।

भारतको हरियाणामा सिभिल इन्जिनियरिङ अध्ययन गर्न गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।

हरियाणाको सोनिपतमा रहेको एसआरएम ग्लोबल कलेजमा सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्यनरत महोत्तरी औरही २ का सहाबुल अन्सारीले मंगलवार आत्महत्या गरेका हुन् ।

सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले कलेजकै कारण सहाबुलको मृत्युमा कलेज दोषी रहेको आरोप लगाएका छन् ।

विलम्ब शुल्कको बहानामा सहाबुलसँग ३५ हजार रुपैयाँ भन्दा बढी रकम कलेजले माग गर्दै यातना दिए पछि उनले आत्महत्या गरेको सोही कलेजका विद्यार्थी दिपेश साहले बताए ।

सहकर्मीको मृत्यु पछि विद्यार्थीहरुले कलेजमा प्रदर्शन समेत गरेका छन् । विद्यार्थीको प्रदर्शनमा कलेज तथा प्रहरीले हस्तक्षेप गरी कुटपीट गर्दा केही विद्यार्थी घाइते भएको उनले बताए ।

घटनाका सम्बन्धमा त्यहाँका प्रहरी अधिकारी तथा कलेज प्रशासनले समेत कुनै चासो नदेखाएको उनले बताएका छन् ।

विद्यार्थीहरुले प्रदर्शनका क्रममा स्टेट हाइवे १ बन्द गराएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अंसारीले कलेज प्रशासनको यातनाका कारण आत्महत्या गरेको भन्दै विद्यार्थीहरुले घटनाको छानबिन तथा दोषीलाई कारवाही गर्न नेपाल सरकारले समेत पहल गर्नुपर्ने माग गरेका छन् ।

सो कलेजले नेपालका विद्यार्थीहरुलाई विभिन्न प्रलोभन तथा आश्वासन दिएर भारत लैजाने र त्यहाँ पुगेपछि विभिन्न बहानामा चर्को शुल्क लिने गरेको विद्यार्थीहरुले बताएका छन् ।

कलेजको होस्टेलमा रहेका नेपाली विद्यार्थीहरुलाई गुणस्तरहीन खाना खुवाउने, बाहिर निस्कन नदिने, बिदा लिदासमेत गयल बापतको जरिवाना शुल्क, विलम्ब शुल्क लगायत धेरै शीर्षकमा रकम असुलेर विद्यार्थीलाई मानसिक तनाव दिने गरेको उनीहरुको भनाइ छ ।

‘३० देखि ५० हजारसम्म जरिवाना शुल्क माग गर्छन् । जेनतेन गरेर पढन आएको गरिब विद्यार्थीले त्यो शुल्क बुझाउन सक्दैनन्’ एक विद्यार्थीले भने ‘सुरुमा कलेजको फोटोहरु देखाएर विभिन्न सुविधा र गुणस्तरीय शिक्षाको कुरा गर्दै नेपालका विद्यार्थीहरु फसाउँछन ।’

कलेजले भनेअनुसारको कुनै सुविधा नदिने तथा उल्टै विद्यार्थीहरुलाई विभिन्न बहानामा टर्चर दिने गरेको विद्यार्थीहरुको गुनासो छ ।