भारतका १६ प्रहरीलाई आजीवन जेल सजाय

१५ कार्तिक २०७५, बिहीबार १०:०२

नयाँ दिल्ली । भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ ।

देशको उत्तरी क्षेत्रमा दशकौँ अघि भएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई आजीवन जेल सजायको फैसला सुनाइएको अदालतका अधिकारीहरूले बताएका छन् ।सन् १९८७ मा भएको सो घटनामा ४२ जना निर्दोष मुस्लीम धर्मावलम्बी मारिएको अदालतको भनाई छ । हिन्दू र मुस्लीम समुदायबीच भएको झडपमा परी उनीहरू मारिएका थिए । पर्याप्त प्रमाणहरूको अभावमा उत्तर प्रदेशको एउटा स्थानीय अदालतले सन् २०१५ मा प्रहरीहरूलाई दोषी देखाउन सकेको थिएन ।

दिल्ली उच्च अदालतका दुई जना न्यायाधीशको इजलासले भने ती प्रहरीहरूलाई दोषी ठहर गर्दै यसअघिको फैसलालाई उल्ट्याएका हुन् । निःशस्त्र र निराश्रयसहितका निर्दोष नागरिकहरूलाई अनाहकमा हत्या गरेको अदालतको ठम्याई छ । घटनामा प्रहरीले विभिन्न कानूनको उलङ्घन गर्दै अपहरण, हत्या जस्ता आपराधीक क्रियाकलाप गरेको प्रमाणहरू भेटिएको अदालतले जनाएको छ । अदालतद्वारा दोषी ठहर गरिएका सबै प्रहरीलाई यही नोभेम्बर २२ भन्दा अगाडि आत्मसमर्पण गर्न पनि आदेश दिइएको छ ।