भरतपुरमा ७२ घण्टाभित्र कोरोना विशेष अस्पताल

५ चैत्र २०७६, बुधबार ०९:३१

चितवन, कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेसम्म नेपालको कुनै पनि भागमा देखापरेको छैन।

विश्वव्यापी टाउको दुखाइको विषय बनेको पृष्ठभूमिमा यो भाइरसको संक्रमण नेपालभित्र कतै देखापरेमा संक्रमितहरूको उपचारका लागि भरतपुरमा ७० शैय्याको कोरोना विशेष अस्पताल ७२ घण्टाभित्रै निर्माण गरिने भएको छ। भरतपुर महानगरपालिका–१० स्थि एक्स्पो सेन्टरलाई महानगरले ७० शैय्याको विशेष अस्पतालमा रूपान्तरण गर्न लागेको हो।

भरतपुर महानगरको अगुवाइमा मंगलबार आयोजना गरिएको सरोकारवालाको बैठकले ७० शैय्याको विशेष अस्पताल ७२ घण्टाभित्र बनाउने निर्णय गरेको हो। बैठकले महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदल’ समेत गठन गरेको छ।

महानगर प्रमुख दाहालले १० शैय्याको आइसियू, १० शैय्याको एचडियू र ५० शैय्याको जनरल वार्ड बनाउने निर्णय भएको जानकारी दिइन्।

‘७२ घण्टाभित्र चितवन एक्स्पो सेन्टरमा ७० बेडको कोरोना विशेष अस्पताल बनाई सेवा सुरु गरिनेछ,’ उनले भनिन्, ‘कोरोना विशेष अस्पतालमा शंकास्पद सबै बिरामीलाई राखिनेछ। भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा रहेका आइसोलेसन वार्डहरू पनि कायम रहन्छन्।’

महानगर प्रमुख दाहालले रोग भित्रिन नदिन उच्चसतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिइहालेमा पूर्वतयारीका लागि अस्पताल निर्माणको काम थालिएको बताइन्।

उनले सरोकारवाला सबै पक्ष एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र कथंकदातिच् भित्रिएको अवस्थामा पनि क्षति बेहोर्नुनपर्ने बताइन्। दाहालका अनुसार कोरोना भाइरस संक्रमणको समस्या देखापरेको अवस्थामा स्थिति सहज बनाउन कार्यदलले अन्यत्र पनि क्वारेन्टाइनका लागि ठाउँ हेरिएको छ।(आजको नागरिक दैनिकबाट)