भद्रकालीमा बन्यो अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान

३० भाद्र २०७४, शुक्रबार १४:३०

३० भदौ । नेपाल आर्मी क्लवले सैनिक मुख्यालय भद्रकालीमा अन्तर्राष्ट्रिय स्तरको एथ्लेटिक्स ट्र्याकसहितको फुटबल मैदान निर्माण सम्पन्न गरेको छ ।

 

करिब १० महिनाभित्रै क्लबले मैदानको निर्माण सम्पन्न गरेको हो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मैदानको उद्घाटन गरेसँगै पहिलो खेलका रूपमा प्रधानसेनापति ट्रफीको फाइनल अन्तर्गत १६ नम्बर बाहिनी र पश्चिम पृतनाबीच फुटबल खेलाइएको थियो ।

 

स्रोतका अनुसार रंगशाला निर्माणमा १४ करोड खर्च लागेको छ । जसमध्ये एथ्लेटिक्स ट्रयाक निर्माणका लागि ८ करोड ६५ लाख र फुटबलमैदानका साथै रंगशाला बाउण्ड्रीका लागि ५ करोड ३५ लाख खर्च भएको छ । एथ्लेटिक्स ट्रयाकमात्रै ६ करोड मूल्य बराबरको छ ।

 

१० लेनको एथ्लेटिक्स ट्रयाकमा अन्तर्राष्ट्रिय मान्यता र नियम अनुसारको सेन्थेटिक म्याट प्रयोग गरिएको छ । सेनाका एथ्लेटिक्स प्रशिक्षक पुष्पराज ओझाले यस ट्र्याक पछिल्लो प्रविधि र इन्टरनेशनल एशोसियसन अफ एथ्लेटिक्स फेडेरेसन (आइएएफ)बाट मान्यताप्राप्त कम्पनीबाट झिकाइएको बताए ।