भगवानसित कुरा गर्न भन्दै मन्दिरमा चढाइयो आइफोन

३० फाल्गुन २०७४, बुधबार ११:२४

फागुन ३०, काठमाडौं । एजेन्सी

भगवानलाई एकसे एक महंगा उपहार चढाएको त सुनिएकै थियो । नगद पैसादेखि गहना र कपडा तथा बहुमूल्य सजावटका सामानहरु समेत मानिसले भगवानलाई चढाउँछन् । तर यहाँ एकजना मानिसलाई भगवानलाई जे चढाएका छन् त्यो अहिलेसम्मकै नौलो छ ।

हालै भारतमा एकजना व्यक्तिले मन्दिरमा भगवानलाई जे चिज चढाए त्यसले सबैलाई छक्क पार्‍यो ।भारतको विजयवाडास्थित सुब्रमण्डा स्वामी मन्दिरमा रहेको दानपात्रमा हालै अहिलेसम्मै नचढाइएको वस्तु फेला पर्‍यो । दानपात्रमा त्यस्तो चिज फेला परेपछि मन्दिरमा तहल्का नै मच्चियो ।

वास्तवमा मन्दिरको दानपात्रमा आइफोन सिक्स एस फेला परेको थियो । दानपात्रमा आइफोन फेला परेपछि सुरुमा त पुजारीलाई त्यो नक्कली आइफोन होला भन्ने लाग्यो । तर पछि चेक गर्दा पो थाहा भयो, त्यो त सक्कली फोन रहेछ ।

मन्दिरको दानपात्रमा महंगो आइफोन सिक्स एस फेला परेको कुरा मन्दिरका कार्यकारी अधिकृतलाई गराइयो ।

मन्दिरको दानपात्रमा कसले आइफोन चढायो भन्ने खुलेको छैन । मानिसहरुले अनेक थरी अनुमान तथा हँसिमजाक गरिरहेका छन् ।

कतिपयको अनुमान छ की मोबाइल फोनको पसल सुरु गरेको कुनै व्यक्तिले आफ्नो व्यापार फलिफाप होस् भनेर भगवानलाई मोबाइल फोन चढाएको हुनसक्छ ।

कतिपयले चाहीँ भगवानसँग सीधै कुराकानी गर्नका लागि कसैले मन्दिरमा आइफोन चढाएको बताउने गरेका छन् । तर आइफोन चढाउने मानिस र त्यसको कारण चाहीँ अहिलेसम्म पत्ता लागेको छैन ।