“ब्लु ह्वेल” र “किकी च्यालेन्ज”पछि आजकल सामाजिक सञ्जालमा “मोमो च्यालेन्ज” भाइरल

२१ श्रावण २०७५, सोमबार १४:२२

साउन २१, काठमाडौं । एजेन्सी

तपाईं फेसबूक र ह्वाट्सएपमा धेर समय बिताउनुहुन्छ भने सावधान हुनुस् । यी नेटवर्किङ साइटहरूमा साइटहरूमा आएका अपरिचित नम्बरलाई नबुझिकन सेभ गर्नु हुँदैन । यस्ता नम्बरले मृत्यु बाँडिरहेका छन् र त्यसलाई मोमो भन्छन् ।

ब्लु ह्वेल गेम र किकी च्यालेन्जपछि आजकल सामाजिक सञ्जालमा मोमो च्यालेन्ज भाइरल भइरहेको छ । ह्वाट्सएपमार्फत यो फैलिरहेको छ ।

मोमो जापानबाट आएको हो र मोमो च्यालेन्ज गेमका लागि प्रयोग भएको तर्साउने तस्वीर जापानी कलाकार मिदोरी हायाशीले बनाएको बताइएको छ । तर हायाशी यो गेमका लागि जिम्मेवार छैनन् ।

यो च्यालेन्ज जोखिमले भरिएको हुन्छ । गेम पूरा नगर्दा मोमोले प्रयोगकर्तालाई गाली गर्छ र कडा सजाय दिने धम्की दिन्छ । अनि प्रयोगकर्ता डराएर आदेश मान्न विवश हुन्छ ।

मोमोको कुरामा फसेर प्रयोगकर्ता मानसिक अवसादको स्थितिमा पुग्छ र आत्महत्या गर्छ । मोमो च्यालेन्ज लिनेहरूमा किशोर र युवा छन् ।

साइबर विशेषज्ञका अनुसार, मोमो च्यालेन्ज खेलबाट धेरैथरी खतरा छन् । गेमको माध्यमबाट अपराधीहरू किशोर र युवालाई फसाउँछन् । निजी सूचना चोरेपछि परिवारलाई ब्ल्याकमेल गर्ने र फिरौती माग्ने काममा यसको दुरुपयोग हुन्छ ।

अनि गेममार्फत किशोरहरूलाई तनावमा पारेर आत्महत्या गर्न उक्साउँछन् । यसरी दिइन्छ च्यालेन्ज सबभन्दा पहिले प्रयोगकर्ताले एक अपरिचित नम्बर पाउँछन् । त्यसलाई सेभ गरेर हेल्लो भन्ने च्यालेन्ज दिइन्छ । अनि त्यो अपरिचित नम्बरमा कुरा गर्ने च्यालेन्ज दिइन्छ ।

त्यसभन्दा अघि बढ्दै गर्दा अपरिचित नम्बरबाट प्रयोगकर्तालाई तर्साउने तस्वीर र भिडियो क्लिपहरू आउन थाल्छन् । प्रयोगकर्तालाई केही काम गर्न दिन्छ र पूरा नगर्दा धम्क्याइन्छ । धम्कीबाट डराएर प्रयोगकर्ता आत्महत्या गर्न विवश हुन्छ ।

मनोचिकित्सकहरू भन्छन्, ‘ह्वाट्सएप वा फेसबूकमा तपाईंको सन्तान धेर सक्रिय रहन्छ भने नजर राख्न थाल्नुस् । उनीहरूलाई अपरिचित नम्बरबाट कुराकानी गर्न रोक्नुस् ।

बच्चाको बानीमा आइरहेको परिवर्तनलाई अनुभव गर्नुस् । ऊ आफैंमा हराउने, शान्त वा चुपचाप बस्ने गरे, खानपिउन छोडे तत्कालै मनोरोग विशेषज्ञको सहायता लिनुस् ।’