ब्याननले मानसिक सन्तुलन गुमाए: ट्रम्प

२० पुष २०७४, बिहीबार ०४:३०

पुस २०, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्व प्रमुख रणनितिकार स्टिभ ब्याननको निन्दा गर्दै ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाएको बताएका छन्।

हालै एउटा पुस्तकमा ब्याननलाई उदृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता देशद्रोहपूर्ण र मुलुक विरोधी भएको उल्लेख गरिएको थियो।   एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको कुनै लिनुदिनु नरहेको र उनले ह्वाइट हाउसमा रहँदा आफूलाई महत्वपूर्ण व्यक्तिका रुपमा देखाउन सञ्चारमाध्यमहरुलाई सूचना चुहाएर समय बिताएको बताएका छन्।  ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रुपमा नै अस्वीकार गर्दै आएका छन् र त्यस विषयमा एउटा विशेष संयन्त्रले अनुसन्धान गरिरहेको छ।

बर्षौसम्म संस्थापन विरोधी परम्परागत लोकप्रियतावादको प्रवर्द्धन गरेका उनी शक्तिको पदमा आसीन भएका थिए। तर उनी अहिले सत्ता भन्दा बाहिर छन् र लामो समयदेखिका उनका प्रतिद्वन्दी र पूर्व साझेदारहरुको घेराबन्दीमा परेका छन्। उनका राष्ट्रपतिले व्यापारिक स्वार्थ पूर्ति गर्ने खालको कर सम्बन्धी कानूनमा हालै हस्ताक्षर गरेका छन्। त्यसबाहेक सन् २०१६ यताको महत्वपूर्ण चुनावमा अलाबामा राज्यको सिनेट सदस्यको निर्वाचनमा लाजमर्दो पराजय समेत ब्यहोरेका छन्।  सम्भवतः यी सबै कारणले ब्यानन र ट्रम्पबीचको झगडा अवश्यम्भावी थियो र यो थप चर्कने लगभग निश्चित छ।