बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयरमाथि कारवाही प्रक्रिया अघि

२७ फाल्गुन २०७४, आईतवार ०७:३१

फागुन २७, काठमाडौं ।

‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीबाट दोषी छुटाउनेहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री कार्यालयले समेत कैलाली जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि एमालेले उनीसँग स्पष्टीकरण लिएको छ ।

मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।

पार्टीले चौधरीसँग मौखिक स्पष्टीकरण लिइसकेको र अब छानविन कमिटी गठन गरी थप प्रक्रिया अघि बढाउने जिल्ला इन्चार्ज तथा कैलाली २ का सांसद झपट रावलले बताए ।

प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ

तत्काल कैलाली जिल्ला कमिटी पदाधिकारी बैठक राखेर छानविन समिति गठन गर्न आफूले जिल्ला अध्यक्षलाई निर्देशन दिइसकेको रावलले बताए ।

यसैवीच प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ ।

मेयर चौधरीको दोष देखिए पार्टीले कडा कारवाही गर्ने जिल्ला इञ्चार्ज रावलले बताए । चौधरीको भूमिकाका बारेमा पार्टी केन्द्रबाट सोधपुछ भएपछि जिल्ला कमिटीले छानविन थालेको हो ।

अपराधीलाई छुटाउने कार्यमा मेयरको संलग्नबारे पार्टीका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावलले चासो राखेपछि जिल्ला कमिटी बैठक बस्न लागेको हो । जिल्ला कमिटीबाट ३ सदस्यीय छानविन कमिटी गठन गर्न लागिएको अध्यक्ष दीर्घ सोडारीले बताए

जिल्ला इञ्चार्ज रावलले जघन्य घटनामा चौधरीको संलग्नता नभए पनि उनले मिडियामा दिएको प्रतिक्रिया संवेदनाहीन देखिएको बताए । यदि घटनाका बेला मेयर रमितेमात्र बनेको हो भने त्यो सैहृय नहुने भन्दै एमालेले दोषीलाई जोगाउने भूमिका नखेल्ने उनले बताए ।

बचाउका लागि मेयरको पत्रकार सम्मेलन

बोक्सीको आरोपमा किशोरीको कुटपिट घटनालाई मिलापत्र गराउन खोजेको आरोप आफूमाथि लागेपछि घोडाघोडी नगरपालिकाका प्रमुख ममता चौधरीले त्यसको खण्डन गर्ने प्रयास गरेका छन् ।

शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीले आफूले घटनालाई मिलाउन नखोजेको दाबी गरे । उनले घटनाको बारेमा सुरुको दिन खासै जानकारीसमेत नभएकाले घटनाबारे चासो नै नदिएको पत्रकार सम्मलेनमा बताए ।

आफूमाथि लागेको आरोपको सफाइ दिने उद्देश्यले सुखडबाट नगरपालिकाको बोर्ड बैठक स्थगित गरी धनगढी पुगेर पत्रकार सम्मेलनको आयोजना गरेका मेयर चौधरीले दोषीलाई कारबाही हुनुपर्छ भन्ने बताए ।

बोक्सीको आरोपमा कुटपिट गर्ने भोलेबाबा भन्ने रामबहादुर चौधरीको पक्षमा गाउँमा आधा मानिस रहेको बताउँदै नगरप्रमुख चौधरीले स्थानीयलाई तत्कालै सम्झाउन नसकिने आवस्था रहेको भन्दै लाचारी प्रकट गरे ।