बेल्जियमका लुकाकु इंग्ल्याण्डसँगको खेलमा मैदान बाहिर रहने

१४ असार २०७५, बिहीबार १०:३२

असार १४, काठमाडौं ।

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु समूह चरण अन्तर्गत बिहीबार राति पौने १२ बजे हुने इंग्ल्याण्डसँगको अन्तिम खेलमा मैदान बाहिर रहने भएका छन् ।

इंग्ल्याण्ड र बेल्जियमबीचकै खेलले समूह ‘जी’ को विजेताको टुंगो लाग्ने छ । २५ वर्षका लुकाकुको गोलीगाँठोमा समस्या देखिएको हो ।

गएको शनिबार ट्युनिसियासँगको खेलेको क्रममा उनको गोलीगाँठोमा चोट लागेको थियो । जसमा बेल्जियम ५-२ ले विजयी हुँदा लुकाकुले दुई गोल गरेका थिए ।

त्यसअघि पानामासँगको खेलमा पनि दुई गोल गरेका उनी सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् ।

पाँच गोल गरेको इंग्ल्याण्डका कप्तान हृयारी केन शीर्ष स्थानमा छन् । उनी बेल्जियमविरुद्ध खेल्दै छन् । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले पनि चार गोल गरेका छन् ।

लुकाकुको अवस्थामा चिन्ता गर्नु नपर्ने तर इंग्ल्याण्डसँगको खेलमा उनी मैदानमा उपलब्ध नहुने बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् ।

उनले भने, ‘स्क्यान गरेर हेर्दा लुकाकुको चोट गम्भीर देखिएन । तर इंग्ल्याण्डसँगको खेलका लागि भने एक दिन चाँडो भयो । पछिका खेलमा उनी फिट हुनेछन् ।’