बुङ्वाखाले प्रदान गर्ने पुरस्कारहरू सार्वजनिक

२७ कार्तिक २०७४, सोमबार ०३:५५

कात्तिक २७, काठमाडौँ । बान्तावा भाषाको पत्रिका ‘बुङ्वाखा’ को तेह्रौँ वार्षिकोत्सवमा प्रदान गरिने पुरस्कारहरूको घोषणा गरिएको छ । बुङ्वाखा पुरस्कार छनोट उपसमितिको कार्तिक २६ गते बसेको बैठकले पुरस्कारहरूको निर्णयहरू गरेको हो ।


यसपटक ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार–२०७४’ इलामका सानङ्वा एवाइलाई प्रदान गरिने भएको छ ।

देउमाइ नगरपालिका–१ (साविक चमैता) इलामका एवाइले स्थानीय रुपमा बान्तावा भाषाको संरक्षानार्थ ‘पारुहाङ किरात बान्तावा भाषाको पाठशाला’ स्थापना गरी कक्षा सञ्चालनरसहजीकरण गरेबापत सो पुरस्कार अर्पण गर्ने निर्णय गरिएको बुङ्वाखाका सम्पादक पदम राईले जानकारी दिए । एवाइको ‘किरात लिपि बान्तावा भाषामा वर्णमालाको रुप’ नामक कृति पनि प्रकाशित छ । उनी शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् ।

पूर्व मुख्य अञ्चलाधीश मकर बहादुर बान्तावा र उनकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उनका परिवारले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका हुन् । ताम्रापत्रसहित पुरस्कारको राशी रु. ३५ हजार रुपैयाँ रहेको छ । पुरस्कार २०७० सालमा स्थापना भएको हो ।

यसैगरी अन्य पुरस्कारहरूमा रु. २० हजार राशी रहेको ‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार–२०७४’ गायिका आभा मुकारुङ, रु. ६ हजार राशी रहेको ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार–२०७४’ बुङ्वाखाको सुनसरी संवाददाता राजेन्द्र राई, ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार–२०७४’ इलामबाट बुङ्वाखामा नियमित लेखक अलग बहादुर सोङ्मेन, ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार–२०७४’ बुङ्वाखाको तेह्रौं बान्तावा कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी क्रमशः रु. १० हजार, रु. ६ हजार र रु. ४ हजार रहेको छ ।

बुङ्वाखाको तेह्रौं वाषिर्कोत्सव तथा तेह्रौं बान्तावा कविता प्रतियोगिता आगामी पुस ८ गते मोरङको उर्लावारीमा हुने भएको छ । उल्लेखित पुरस्कारहरू सोही दिन अर्पण गरिने बुङ्वाखाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि मङ्सिर २४ गते कार्यक्रम हुने भनिएता पनि आगामी चुनावको कारण मिति सारिएको हो । त्यस्तै, कविता पठाउने समयसीमा पनि कात्तिक ३० बाट मङ्सिर १५ गतेसम्म बढाइएको सम्पादक राईले जानकारी दिए ।