बारामा चुनावी तयारी पुरा, सुनसरीको पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट

१९ मंसिर २०७४, मंगलवार ०८:०२

मंसिर  १९, बारा  ।
आगामी मंसिर २१ गते हुँने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएकोे जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

जिल्लामा रहेको प्रतिनिधि ४ र प्रदेश सभा ८ क्षेत्रका लागि ३ सय ३ मतदान स्थल र ४ सय ५ मतदान केन्द्रको व्यवस्था गरिएको हो । जिल्लामा ३ लाख ४९ हजार ९ सय ४७ कुल मतदाता सख्या रहेको छ ।  सुरक्षाका दृष्टिले १२१ मतदान स्थल अति संवेदनशिल रहेको छ भने सम्वेदनशिलमा ९७ र ७२ सामान्य गरी विभाजन गरिएको छ । सुरक्षा मजबुत बनाउँनका लागि नेपाल सरकारले बारामा नेपाल प्रहरी १८ सय , म्यादी प्रहरी २ हजार ५ सय , सशस्त्र प्रहरी ११ सय ५१ र नेपाली सेनाको सुरक्षा व्यावस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरले बताए । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफका अनुसार जिल्लामा रहेका मतदान स्थल र मतदान केन्दहरुमा आवश्यक सुरक्षा , कर्मचारी र निर्वाचनका लागि आवश्यक पर्ने सम्पुर्ण निर्वाचन सामग्रीहरु पुगिसकेको जानकारी दिए ।
उनले शनिवारबाट सुरु गरिएको निर्वाचन सामग्री सोमवार सम्म जिल्लामा रहेका सबै स्थल र केन्द्रको आँफुले निरिक्षण गरिसकेको बताउँदै सबै मतदाताहरुलाई निर्धक्कसँग मतदान गर्न आग्रह समेत गरेका छन् । उता निर्वाचन आउन तीन दिन मात्र बाँकि रहँदा आज सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर–२० मा रहेको ज्वालामुखी माध्यमिक विद्यालयको पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट हुँदा जनजीवन त्रसित हुन पुग्यो । अज्ञात दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट गराएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । धरान–चतरा सडकखण्डको चारकोसे जंगलनजिकैको पटनाली मतदान केन्द्रमा विस्फोट भएपछि स्थानीय त्रसित भएका हुन् । बम विस्फोटबाट कुनै क्षति नभएपनि सर्वसाधारण आतंकित भएको पत्रकार हेमराज दाहालले घटनास्थलबाट जनाएका छन् ।