बाम तालमेलबाट ११० सिटमा एमालेलाई ७२ र माओवादीलाई ३३

१० कार्तिक २०७४, शुक्रबार १४:५८

कात्तिक १०, काठमाडौं । बाम गठबन्धनले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० निर्वाचन क्षेत्रको बाँडफाँट गरेको छ ।

बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको छ । स्रोतका अनुसार अहिलेसम्मको छलफल अनुसार मालेको भागमा ७२ सिट र माओवादी केन्द्रको भागमा ३३ सिट परेको छ । चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको छ । बाँकी १८ सिटमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले जानकारी लिएका छन् ।

 

प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि सिट बाँडफाँट भएको छ । स्थानीय चुनावको मत, सम्भावित उम्मेदवारको व्यक्तित्व लगायतका आधारमा सिट बाँडफाँट गरिएको नेताहरुले बताए ।  स्थानीय चुनावमा क्लिन स्वीप गरेको धनकुटासँगै तेह्रथुमको प्रदेश र प्रतिनिधिसभाको सबै सिट एमालेले पाएको छ भने इलाममा माओवादीले प्रदेशसभाको एक सिट लिएको छ ।    सिन्धुलीको प्रदेश र प्रतिनिधिसभा आधा(आधा लिने सहमति भएको छ भने मकवानपुरमा प्रतिनिधिसभाको दुबै सिट एमालेले लिएको छ । प्रदेशमा भने आधा आधा गरिएको छ ।

 

चितवनमा एमाले र माओवादीले १– १ सिट लिएका छन् । एक सिट टुंगो लागेको छैन । चितवन ३ बाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्दैछन् ।   काठमाडौंमा एमालेले प्रदेशको १७ र प्रतिनिधिसभाको १७ सिट लिएको छ । माओवादीले दुबै सभाको ३र३ सिट पाएको छ । ललितपुरमा एमालेले प्रतिनिधिसभाको दुई सिट लिँदा माओवादीको भागमा एक सिट परेको छ ।   भक्तपुरको एमालेले प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट लिएको छ भने माओवादीले प्रदेशसभाको एक सिटमा चिक्त बुझाएको छ । प्रदेश र प्रतिनिधिसभाको एक एक सिटबारे निर्णय हुन बाँकी छ ।

 

तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मीको प्रतिनिधिसभा एमालेको भागमा परेको छ भने अर्घाखाँचीको प्रतिनिधिसभा माओवादीले लिएको छ । कपिलवस्तुमा भने दुई सिट स्वतन्त्रलाई दिइएको छ भने एक सिटबारे टुंगो लागेको छैन । दाङमा एमाले र माओवादीले १–१ सिट लिँदा एक बारे निर्णय हुन सकेको छैन । बाँकेका ३ सिटमध्ये एमाले र माओवादीले एक–एक बाँडेका छन् भने एक स्वतन्त्रलाई दिइएको छ । रुपन्देहीमा एमालेले ४ सिट पाएको छ भने माओवादीले एक सिट लिएको छ ।

 

सल्यानबारे छलफल जारी छ । दैलेखको दुबै, कैलालीको ३ र कञ्चनपुरको २ सिट एमालेले लिएको छ । डडेलधुरामा एक सिट लिएको माओवादीले कैलालीमा २ र कञ्चनपुरमा १ सिट पाएको छ ।  झापामा माओवादीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई सिट पाएको छ । उसले प्रतिनिधिसभामा थप एक सिट दाबी गरिरहेको छ । मोरङमा एमालेले ३ र माओवादीले २ सिट लिने सहमति भएको छ । एक सिटबारे छलफल जारी छ । सुनसरीको ४ निर्वाचन क्षेत्रबाट निर्णय गर्ने अधिकार शीर्षनेताहरुलाई लिइएको छ ।