बाग्लुङमा निवारण भएन हात्तीपाइले रोग

२५ पुष २०७६, शुक्रबार १५:१८

बाग्लुङ , नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिएपनि ६ महिनापछि सर्वेक्षण गर्दा पुनः संक्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन सकेको छैन ।

सर्वेक्षण गर्दा पुनः संक्रमण भेटिएका कारण जिल्लामा ११ औं पटक आगामी माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा विभागका डा प्रकाश शाहले जानकारी दिए ।

हात्तीपाइले रोगबाट बच्न लगातार ६ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । लगातार ६ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भएपनि हात्तीपाइले रोग निवारणका लागि बाग्लुङ जिल्लामा ११ औं पटक अभियान सञ्चालन गरिने भएको हो ।

‘विश्व स्वास्थ्य संगठनले हरेक जिल्लामा हात्तीपाइलेको जीवाणु १ प्रतिशत कम हुनुपर्ने औंल्याएको छ,’ शाहले भने, ‘बाग्लुङमा १ प्रतिशतभन्दा कम ल्याउन अभियान चलाए पनि पूरा नभएपछि बाग्लुङमा फेरि अभियान सञ्चालन गरिएको हो ।’ १ प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बाग्लुङमा ११ औं पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको शाहको भनाइ रहेको छ ।

बाग्लुङमा गत वर्ष हात्तीपाइलेको औषधि खुवाइएपछि ६ महिनामा नमूना सर्वेक्षणका क्रममा नारायणस्थानमा यसको संक्रमण भेटिएपछि पुनः अभियान थाल्नुपरेको हो । बिहीवार बाग्लुङमा आयोजित जिल्लाका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकसँगको हात्तीपाइलेसम्बन्धी योजना तथा समीक्षा गोष्ठीमा बाग्लुङमा ११ औं पटक हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गर्न थालेको जानकारी गराइएको थियो ।

अहिले ७७ जिल्लामध्ये १३ जिल्लामा औषधि खुवाएको ६ महिनापछि परीक्षण गर्दा जीवाणु भेटिएको थियो । ती जिल्लामा पुनः एकसाथ अभियान सञ्चालन गरिने डा। शाहले बताए । १३ जिल्लामध्ये गण्डकी प्रदेशमा बाग्लुङसहित पर्वत र लमजुङमा ११ औं पटक अभियान सञ्चालन गर्नुपर्ने भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

‘हात्तीपाइलेविरुद्धको औषधि सेवनमा नागरिक सचेत नहुनु र लगातार औषधि नखानु यसको कारण हो,’ गुरौले भने, ‘यसपटक स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाइने छ ।’

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसकेपनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । (लोकान्तरबाट)