बागलुङमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

१२ असार २०७५, मंगलवार ०६:२७

असार १२, काठमाडौं ।

बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको जानकारी दिए ।

 

पहिराेले नजिकैको अर्को घरमा पनि सामान्य क्षति पुगेको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 

बागलुङमा गएराति परेको अविरल वर्षाले अन्य स्थानहरुमा पनि क्षति पुर्याएको विवरण आइरहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए । घर भत्किएका, पहिरो खसेका लगायतका क्षतिका खबर आए पनि अन्यत्र भने मानवीय क्षति नभएको उनको भनाइ छ ।

 

गत वर्ष साउन महिनामा बागलुङकै निशी खोलामा पहिरो जाँदा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको थियो ।