बाख्राको हत्या, पोष्टमार्टम गरी अनुसन्धान हुँदै

२८ फाल्गुन २०७४, सोमबार १०:२१

फागुन २८, काठमाडौं । एजेन्सी

मानिसको हत्यापछि मृतकको पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान हुने गरेको त स्वभाविकै हो । तर भारतमा भने बाख्राको हत्याले तहल्का पिटेको छ ।

भारतको छत्तिसगढस्थित कोरिया जिल्लामा पर्ने बोरिडाँड गाउँमा हालै एउटा बाख्राको वाणले हानेर हत्या गरियो । स्थानीय फूल सिंह नामका व्यक्तिको बाख्रालाई राम चरन नामका व्यक्तिले वाणले हानेर मारिदिए ।

आफ्नो खेतमा पसेर बाली खाइदिएपछि रामचरनले फूलसिंहको बाख्रालाई वाणले हानेका थिए ।

रामचरनले बाख्रालाई मारिदिएपछि फूलसिंह त्यस विषयमा कुरा गर्न रामचरनको घर गए । त्यसपछि दुइजनाबीच झण्डै हात हालाहाल भयो ।

त्यसपछि फूलसिंहले आफ्नो बाख्राको हत्या भएको भन्दै पुुलिसमा उजुरी गरे । त्यसपछि पुलिसले बाख्राको शव लिएर आउन बाख्रा मालिक फूलसिंहलाई आदेश दियो । बाख्राको शवको भेटेनरी अस्पतालमा पोष्टमार्टम पनि गर्न पठाइयो ।

बाख्रा हत्याको आरोप लागेका रामचरनले पुलिससामुआफुले बाख्रालाई नमारेको दाबी गरेपछि यस विषयमा थप कारवाही अघि बढ्न सकेको छैन ।

पुलिसले हत्याको विषयमा थप कारवाही अघि बढाउन पोष्टमार्टम रिपोर्ट पर्खिरहेको बताइएको छ । पोष्टमार्टम रिपोर्टकै आधारमा बाख्रा हत्याको यो घटनाको अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउने योजना पुलिसको छ ।