बहुलवादमा विश्वास गर्ने पार्टी काङ्ग्रेस नै होः नेता महत

२ माघ २०७५, बुधबार १४:४५

सुर्खेत– नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनु भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा  आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा।महतले विकासको जग काङ्ग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी  गर्नु भयो ।  ‘मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा काङ्ग्रेस थियो’,  उहाँले भन्नु भयो, ‘काङ्ग्रेसको बलियो नीतिका कारण उतिबेलाको विपरीत परिस्थितिमा पनि मुलुकमा विकास भयो ।’

उहाँले भन्नु भयो, ‘बहुलवादमा विश्वास गर्ने पार्टी काङ्ग्रेस नै हो । समाजवादको मर्मबमोजिम पार्टी अघि बढेको छ ।’ मुलुकमा पक्की,कच्ची गरेर ८५ हजार सडक निर्माण हुनु, रु १२ अर्ब राजश्वबाट अहिले रु ९०० अर्ब राजश्वमा वृद्धि हुनु,तत्कालीन चार हजार गाविसमा स्वास्थ्य सेवा पुर्याउनु र १६ लाख हेक्टर जमिनमा सिँचाइ हुनुमा काङ्ग्रेसको देन रहेको नेता महतको भनाइ थियो ।