बलिउडका सफल नायक बरुण धवन बिबाह बन्धनमा बाँधिए

१२ माघ २०७७, सोमबार ११:३७

बलिउडका सफल नायक बरुण धवन बिबाह बन्धनमा बाँधिएका छन् । उनले, आफ्नी प्रेमिका नताशा दलालसँग आइतबार बिहे गरेका हुन् । अलिबाग रिसोर्टमा आयोजित समारोहमा बरुण र नताशाले एक अर्कासँग जीवन एकसाथ बिताउने बाचा गरे । बरुण र नताशाको बिहेमा उनीहरुका आफन्त, परिवारका सदस्य र केही बलिउडकर्मी मात्र उपस्थित थिए । उनीहरुको बिहे पंजाबी परम्परा अनुसार भएको भारतीय मिडियाले बताएका छन् ।

चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेका निर्देशक डेविड धवनका छोरा बरुणको प्रेम चर्चा बलिउडका विभिन्न नायिकाहरुसँग नचलेको होइन । तर, उनी र नताशा भने लामो समयदेखि प्रेममा थिए । बरुण र नताशालाई बलिउडकर्मीले सामाजिक संजालबाट बधाई दिइरहेका छन् ।