“बर्थिङ सेन्टर”मा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने

२४ श्रावण २०७५, बिहीबार १०:३२

साउन २४, काठमाडौं ।

कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ ।

कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो ।

आर्थिक वर्ष ०७५/७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए ।

यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु दुई हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए ।

स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८०० को हकमा भने नियमित जाँच गराएको हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताए । उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ ।