बम विस्फोटको विरोधमा आज म्यानपावर कम्पनी बन्द

२६ फाल्गुन २०७५, आईतवार १२:४५

काठमाडौं , वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द गरिएको छ ।शुक्रबार घरमै पार्क गरी राखिएको कारमा बम विस्फोट गराइएको घटनाको भर्त्सना गर्दै आज देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो ।

अध्यक्ष गुरुङको घरमा भएको विस्फोटका कारण पार्किङ गरी राखिएको गाडी पूर्णरुपमा ध्वस्त भएको थियो भने घरमा आगलागी भएर क्षति भएको थियो। आगलागी काठमाडौं महानगरको दमकल, प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए ।
घटनाको नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटनाको जिम्मेवारी लिएको छ । नेकपाको सहायक संगठन युवा संगठन नेपालले एक विज्ञप्ति जारी गर्दै ’गुरुङले देश र जनतालाई कंगाल बनाउने तथा मानव तस्करीलाई रोक्नुको सट्टा प्रसय दिएकोमा पटक पटक चेतावनी दिँदासमेत नमानेको हुँदा कारबाहीस्वरुप घटना घटाइएको’ बताएको छ ।
सांकेतिक कारबाहीको प्रवाह नगरी अझैपनि वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै ठगी गर्ने, वैदेशिक रोजगार व्यवसायी महासंघको नेतृत्व गर्दै राष्ट्रिय अन्तर्रा्ष्ट्रिय स्तमा मानव तस्करी गर्नेजस्ता कामहरु बन्द नगरिएमा योभन्दा अझै बढी सशस्त्र कारबाही गर्न बाध्य हुनेछौं’, युवा संगठन नेपालको मध्य केन्द्रीय कमान्डका सचिव ’शिशिर’द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष गुरुङले शुक्रबार भएको बम विस्फोटको कारणको सम्बन्धमा कुनै जानकारी नभएको बताएका छन्।’तर विप्लव समूहले ४ महिनाअघि आर्थिक सहयोगका लागि महासंघलाई सम्बोधन गरी पत्र काटेको थियो,’ उनले भने, ’आफूहरुले ठूलो रकम चन्दा दिन नसक्ने बताएका थियौं।’
विप्लव नेतृत्वको नेकपाको पत्र आएको भएपनि सो पत्रमा कति रकम सहयोग मागिएको हो भन्ने कुरा नखुलाइएको उनको भनाइ छ । मलेसियाको रोजगारी रोकिएको र म्यानपावर व्यवसायीले सरकार समक्ष राख्नुपर्ने धरौटी लगायतका विषयले गर्दा तत्काल ठूलो आर्थिक सहयोग गर्न नसक्ने जवाफ संघले फर्काएको थियो। गुरुङका अनुसार तीन हप्ताअघि मात्र सो पत्र फिर्ता लिन एक व्यक्ति आएका थिए ।