बढ्दो शीतलहरले तराईको जनजीवन प्रभावित बन्दै

२० पुष २०७४, बिहीबार ०३:३२

पुस २०, काठमाडौं । तराईका जिल्लामा केही साता अघि सुरु भएको शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।

काठमाडौंमा बुधबार यो वर्षको सबैभन्दा चिसो दिन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद विभूति पोखरेलका अनुसार काठमाडौं सहित मुलुकभर चिसो बढेको छ । पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भूभागमा कुहिरो नहट्दा चिसो बढेको हो । पूर्वी क्षेत्रमा पनि चिसो बढेको छ ।

यसैगरी तराईका सबैजसो भागमा शीतलहरका कारण जनजीवन कष्टकर बनिरहेको छ । तराईका विभिन्न जिल्लामा शीतलहरका कारण शिक्षण संस्थाहरू समेत बन्द गरिएका छन् । शीतलहरका कारण मृत्यु समेत भएको पाइएको छ । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम तापक्रम घटेको छ । एकदुई दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ ।

आकाशमा बादल नहुनु, उत्तर–पश्चिमी वायु वहनु, हिमाली चिसो आउनुले चिसो बढेको मौसमविद पोखरेलको भनाई छ । एक साता देखि चलेको शीतलहरका कारण सप्तरीको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण तापक्रम घट्दै गएपछि सर्वसाधारणको चहलपहलसमेत घटेको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन् ।
राजधानीबाट