बढ्दो चिसोप्रति संघीय समाजवादी फोरम नेपाल बाँकेको गम्भीर ध्यानाकर्षण

२० पुष २०७४, बिहीबार ०६:१३

पुष २०, बाँके । तराई र मधेशका जिल्लाहरुमा अत्याधिक चिसोसगै शीतलहरका कारण उत्पन्न बाक्लो हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएकोप्रति संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जाडो मौसममा बालबालिकालाई विशेष गरी श्वासप्रश्वासमा समस्या देखिने,वृद्घबृृद्घाहरुमा जाडोले कठ्याग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने गम्भीर समस्या उत्पन्न भइसक्दा पनि जोगिन प्रति स्थानीय प्रशासनले अहिलेसम्म कुनै पनि पहल र उपाय अवलम्बन नगरेको प्रति फोरमले चासो व्यक्त गरेको छ ।

विगतका वर्षहरुमा पनि चिसोमा कठ्ग्रिएर थुप्रै जनताले ज्यान गुमाउनु परेको स्मरण गराउदै तराई र मधेशमा बढ्दो शीतलहरबाट जोगिन कुनै पहल नहुनु सरकारको कमजोरी रहेको प्रेस विज्ञप्ती मार्फत जनाईएको छ । यस विषम परिस्थीतिमा शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा,आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगाएतको व्यवस्था यथाशीघ्र गर्न सङ्घीय समाजवादी फोरम,नेपाल जिल्ला कार्य समिति,बाँकेले स्थानीय प्रहरी–प्रशासनसंग जोडदार माग गरेको छ ।

यसका साथै,शीतलहर प्रभावित क्षेत्रमा न्यानो लुगा कपडा र ताप्ने दाउरा उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन विभिन्न सामाजिक संस्था,राजनीतिक दल र स्थानियवासीसँग अपिल समेत गरेको संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति बाँकेका अध्यक्ष कमरुद्घिन राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।