“फ्रान्सेली स्पाइडरम्यान”ले डोरीविनै गगनचुम्बी भवनको ७५ तलासम्म चढे

२८ जेष्ठ २०७५, सोमबार ०७:५४

जेठ २८, काठमाडौं । एजन्सी

फ्रान्सेली फ्रिक्लाइम्बर एलन रोबर्टले दुनियाँको पाँचौँ सबैभन्दा अग्लो भवन चढ्ने चाहना त पूरा गर्न पाएनन् तर उक्त गगनचुम्बी भवनको ७५ औँ तलासम्म भने आरोहण गरेका छन् ।

दक्षिण कोरियाको सोलमा रहेको १ सय २३ तले लोट्टे वर्ल्ड टावरलाई बाहिरपट्टिबाट चढ्ने क्रममा उनी ७५ औँ तलाको उचाइमा पुगेका थिए । सुरक्षा गार्डले उनलाई त्यसभन्दा माथि जान दिएनन् ।

हिमाल चढ्ने तथा यसरी भवन चढ्ने मानिसहरुले सुरक्षा तथा चढाइका लागि विभिन्न उपकरणको प्रयोग गर्दछन् । तर फ्रिक्लाइम्बर भने कुनै पनि उपकरण विना नै फिल्मी शैलीमा स्पाइडरम्यान जस्तै गरी फुत्त फुत्त माथि चढ्दछन् ।

फ्रान्सेली स्पाइडरम्यानको नामले चर्चित ५५ वर्षीय रोबर्टले रस्सी तथा अन्य कुनैपनि उपकरणको प्रयोग नगरी गगनचुम्बी महलको बाहिरबाट ७५ औँ तलासम्म पुगेका थिए । तर भवनका कर्मचारीहरुले उनलाई भित्रबाट पिछा गरिरहेका थिए । उनलाई ७५ औँ तलामा पुगेपछि भवनको सुरक्षा गर्ने उपकरणको सहायताले छतमा लगियो र अन्ततः उनले भवन चढ्ने काम त्यहीँ रोक्ने निर्णय गरे ।

दुई कोरियाबीचको शान्ति प्रक्रियाका सम्बन्धमा भैरहेका प्रयासको खुसी स्वरुप आफुले गगनचुम्बी भवनको आरोहण गरेको उनले बताएका छन् ।

गिनिज वर्ल्ड रेकर्डस्का अनुसार रोबोर्टले अहिलेसम्म १ सय भन्दा धेरै गगनचुम्बी भवनहरुमा कुनै रस्सी वा सुरक्षा उपकरण विना नै चढेका छन् । इफेल टावर, सिडनी ओपेरा देखि क्वालालम्पुरको ट्विन टावर र दुबईको बुर्ज खालिफा लगायतका भवनहरु उनले चढिसकेका छन् ।