फ्यानको क्रेज : चार महिना साईकल चढेर मेस्सीलाई भेट्न रुस पुगे यी युवा

५ असार २०७५, मंगलवार ०८:०८

असार ५, काठमाडौं । एजेन्सी

फूटबल विश्वकपको रौनक विश्वभर छाएको छ । सम्भव हुनेहरूले रुस पुगेर, नहुनेले समूहमा जम्मा भएर वा घरमै बसेर विश्वकपको मज्जा लिइरहेका छन् ।

यस्तैमा एक भारतीय युवा यस्ता पनि छन्, जो विश्वकप हेर्न र अर्जेन्टिना टीमका कप्तान लियोनल मेस्सीलाई भेट्न साइकल चढेर रुस पुगेका छन् ।

केरलाका २८ वर्षीय क्लिफिन फ्रान्सिस २३ फेब्रुअरीमा दुबइ पुगे । त्यहाँ एउटा साइकल किनेर उनी इरान प्रस्थान गरे । इरानको दक्षिणपूर्वमा अवस्थित सीमावर्ती शहर बन्दर अब्बासबाट उनले रुसका लागि साइकल यात्रा शुरु गरे ।

रुसको तामबोव पुगेका फ्रान्सिसले भारतीय न्यूज एजेन्सी पीटीआईसँग भने – ‘म धेरै खुशी छु । यस यत्रामा ४ महिना लाग्यो ।’

उनले २६ जुनमा फ्रान्स र डेनमार्कबीच हुने खेलको टीकट पनि खरिद गरिसकेका छन् ।

फ्रान्सिस पेशाले सफ्ट्वेर इञ्जिनियर हुन् ।

उनी फूटबलका निकै ठूला फ्यान हुन् । मैदानमै पुगेर विश्वकप हेर्ने उनको सपना थियो ।

फ्रान्सिस २१ जुनमा मस्को पुग्नेछन् । त्यहाँ पुगेपछि विश्वकप हेर्ने र मेस्सीलाई भेट्ने आफ्नो सपना पूरा हुनेमा उनी आशावादी छन् ।

‘म यति टाढा आएको छु र आशावादी छु- मेस्सीलाई भेट्ने मेरो सपना पूरा हुनेछ,’ फ्रान्सिसले पीटीआईसँग भने ।

उनले थपे – ‘मलाई थाहा छैन मैले मेस्सीलाई भेट्न पाउँछु कि पाउँदिन । म उनको निकै ठूलो फ्यान हुँ ।’