फेसबुकलाई गोपनियता केन्द्रित बनाउने मार्क जुकरबर्गको योजना

२३ फाल्गुन २०७५, बिहीबार १०:४४

काठमाडौँ , फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रित प्लेटफर्म बनाउने तयारी थालिएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । फेसबुकको प्राइभेट म्यासेजिङ्ग सभिर्स ओपन प्लेटफर्म भन्दा चर्चित हुने जुकरबर्गले बताएका छन् ।

उनले आफ्नो एक ब्लगमार्फत फेसबुकलाई गोपनियता केन्द्रित बनाउँदै लैजाने योजना सार्वजनिक गरेका छन् । म्यासेन्जर र ह्वाट्सएप फेसबुकको स्वामित्वमा छन् ।

पछिल्लो समय प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी भएको तथा गैरकानुनी रुपमा प्रयोग गरिएको आरोप लागेपछि फेसबुक समस्यामा छ । यहि क्रममा जुकरबर्गले फेसबुकलाई गोपनियता केन्द्रित बनाउने योजना सार्वजनिक गरेका हुन् ।

जुकरबर्गले भनेका छन्, ‘फेसबुक र इन्स्टाग्रामले मानिसहरुलाई आफ्ना प्रियजन, साथी तथा परिवारका सदस्यसँग सम्पर्कमा रहन सहयोग गरेको छ । तर मानिसहरुले यसको प्रयोग गर्दै गर्दा गोपनियता पनि चाहन्छन्, हामी यो चाहना पूरा गर्ने प्रयासमा छौँ ।’