फेला पर्यो नेपालमा ५० वर्षअघि नै जेटबोट चलेको प्रमाण, पहिलोपटक जेटबोट चलाउने व्यक्ति को त ?

२२ चैत्र २०७४, बिहीबार ०८:११

चैत २२, काठमाडौं ।

सप्तकोशीमा नेपाली झण्डावाल ‘पानी जहाज’ चलेको समाचार सुनेर धेरै नेपालीहरु खुशी देखिए । ३० सिटे जेटबोट सुनसरीको चतरादेखि भोजपुर, उदयपुर र धनकुटाको सिम्लेसम्म चल्न थालेको छ ।

तर, चतरामा पहिलोपटक जेटबोट चलाउने न्यूजिल्याण्डका एडमण्ड हिलारी हुन् । तिनै एडमण्ड हिलारी, जसले सगरमाथा पहिलोपटक सन् १९५३ मे २९ मा आरोहण गरेका थिए ।

उनै हिलारीले सगरमाथा आरोहणको पन्” वर्षपछि सन् १९६८ मा चतराको सप्तकोशी नदीबाट सुरु गरेर सुनकोशीको दोलालघाटसम्म जेटबोटमा जलयात्रा गरेका थिए ।
आफ्ना साथी एवं कुशल जेटबोट चालक जोन हृयामिल्टनसँगै हिलारीले जेटबोट यात्रा गरेका थिए । आइडी भिन्टेज नामक एक क्यानाडेली संस्थाले बनाएको भिडियोले नेपालमा जेटबोट चलेको एक इतिहास हेर्न पाइन्छ ।

भिडियोमा हिलारीको पुस्तक ‘फ्रम द ओसियन टु द स्काई’ को रिफरेन्स लिइएको छ । सो पुस्तकमा हिलारीले गंगा नदीमा गरेको जेटबोट यात्राको जोखिमपूर्ण वर्णन गरेका छन् ।

उनै हिलारी र हृयामिल्टनले ५० वर्ष अगाडि गरेको कोशी नदीको जलयात्रा गराउन निजी क्षेत्र बल्लबल्ल जोसिएको छ । तर, पूरा आत्माविश्वास भने पलाएको छैन । र, त त्योबेला सप्तकोशीबाट दोलालघाटजस्तो लामो यात्रा अहिले भएको छैन ।

त्योबेला चतरादेखि १७५ किलोमिटरको दोलालघाटसम्म यात्रा गरेका थिए हिलारीहरुले । अहिले केवल १५ किलोमिटर मात्रै यात्रा हुन्छ । तर, बाटोका ढिस्का र ठूला ढुंगाहरू हटाउने हो भने दोलालघाट, तुम्लिङटार र ताप्लेजुङको दोभानसम्म सहजै जेटबोट यात्रा हुन सक्ने जेटबोट सञ्चालकहरु बताउँछन् ।

तीन फिट गहिरो पानी र थोरैमा १५ फिट चौडाइ भएको खोलामा पनि सहजै जेटबोटमा जलयात्रा हुने बराहक्षेत्र जल यात्रा तथा पर्यटन प्रालिका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठ बताउँछन् ।