फेरि चल्दै ‘साक्षर नेपाल’ अभियान

२५ पुष २०७५, बुधबार १०:२५

प्रकाश सिलवाल

विगतमा घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष ०७६ सालका लागि निर्धारण गरिएको छ । नेपाल सरकारले ०७२ सालमै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखे पनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोषणा गरेको हो । अभियानले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी ०७६ भित्रमा साक्षर नेपाल घोषणा र सबै नेपाली नागरिकका लागि जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने लक्ष्य लिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा आगामी दुई वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य लिएबमोजिम यही पुस १६ गतेको मन्त्रिपरिषद्को बैठकले आउँदो वर्ष ०७६ साललाई सो अभियान वर्षका रूपमा घोषित गरेको हो । पारित साक्षर नेपाल अभियानको अवधारणामा हरेक एकले अर्को एक निरक्षरलाई पढाउने ९इच वान, टिच वान० लगायतका कार्यक्रम छन् । ‘समुदाय वा परिवारमा रहेका साक्षर एकजना व्यक्तिले अर्को कम्तीमा एकजना निरक्षर व्यक्तिलाई निश्चित समयमा साक्षर गराउने गरी सञ्चालन गरिन्छ ।’ साक्षर नेपालको अवधारणापत्रमा भनिएको छ, ‘तालिम प्राप्त सहजकर्ताबाट समुदायमा रहेका निरक्षर जम्मा गरी निश्चित संख्यालाई कक्षामा राखेर सिकाउने ढाँचा पनि अपनाउन सकिनेछ ।’

यस प्रणालीअन्तर्गत हिमाली जिल्लामा प्रतिकक्षा १५ जना, तराई, पहाड र उपत्यकामा २० जना सहभागी रहन सक्नेछन् । सिकाइ समयावधि चार महिनाभित्र दैनिक दुुई घण्टाका दरले वा हप्तामा ६ दिन वा सहभागिको अनुकूलतामा १ सय ५० देखि २०० घण्टासम्म रहनेछ । सरकारी आँकडाअनुसार ०७५ सालको असारसम्ममा मुलुकका ७७ मध्ये ४७ जिल्ला साक्षर घोषित भएका छन् । हाल युवा साक्षरता १५ देखि २४ उमेर समूह ९५ प्रतिशत र प्रौढ साक्षरता १५ देखि ६० उमेर समूह ८२ प्रतिशत छ । साक्षर घोषणा हुन बाँकी ३० जिल्लामा पुनःअभियान घोषणा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका प्रमुख गेहनाथ गौतमले जानकारी दिए ।मन्त्रिपरिषद्बाट स्वीकृत भएको साक्षर नेपालको अवधारणा कार्यान्वयनका लागि कार्यविधि बनाएर लक्षित तह र जिल्लामा अभिमुखीकरण गरिने उनले बताए । आउँदो फागुनदेखि अभिमुखीकरण आरम्भ गरी नयाँ वर्षदेखि अभियान सञ्चालन गरिनेछ । विगतमा अनौपचारिक शिक्षा केन्द्रले यो अभियान सञ्चालन गर्दै आएको थियो ।

सघन कक्षा आवश्यक पर्ने ‘घ’ समूहमा पर्ने जिल्लामा धनुषा, रौतहट, सर्लाही, सिराहा, सप्तरी, बारा, पर्सा, सोलुखुम्बु, हुम्ला र डोल्पा छन् । ‘ग’ समूहमा मुगु, जुम्ला, कालिकोट, अछाम, बझाङ, बाजुरा, कञ्चनपुर र महोत्तरी छन् । ‘ख’ समूहमा रहेका जिल्ला भने साक्षर घोषणा गर्ने तयारीमा छन् । यी जिल्लामा कैलाली, डोटी, बाँके, काठमाडौँ, कपिलवस्तु र ताप्लेजुङ छन् । ‘क’ समूहमा रहेका काभ्रेपलाञ्चोक, संखुवासभा, उदयपुर, मोरङ, डडेल्धुरा र बैतडीमा चाँडै साक्षर जिल्ला घोषणाको लक्ष्य लिइएको छ ।

कुनै गाउँपालिका, नगरपालिका वा जिल्लामा स्थायी बसोवास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा सो तहले निर्णय नगरे पनि अभिलेख सत्यापनका आधारमा प्रदेश वा केन्द्रबाट सो क्षेत्रलाई ‘साक्षर’ भएको मान्यता दिन सकिनेछ ।

अभियानका लागि साक्षरताको नीति, पद्धति र स्रोत परिचालन विधि नेपाल सरकारबाट तय हुनेछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र स्थायी बसोवास गर्ने तोकिएको उमेर समूहका निरक्षर जनसंख्याको नामनिसानासहित विवरण यकिन गर्ने र विद्यालय, सामुदायिक सिकाइ केन्द्र, स्रोतकेन्द्र, विकास साझेदार गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चार माध्यम, अन्य साझेदार परिचालन गरी साक्षरता प्रवद्र्धन गर्नेछ ।

अभियानका लागि प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने हरेक राजनीतिक दललाई साक्षरता अभियानमा आफ्ना संयन्त्र तथा भ्रातृ संस्था परिचालन गर्न आह्वान गरिने अवधारणा पत्रमा उल्लेख छ । अभियान सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा १३ सदस्यीय साक्षरता अभियान केन्द्रीय समन्वय समिति गठन गरिनेछ भने प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सम्बन्धित समिति गठन हुनेछन् ।अवधारणापत्रले राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची रबिलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग, शून्यदेखि नौसम्मका अंक अक्षर लेखाइ, एकदेखि एक सयसम्म गणना, लेनदेनका हरहिसाब राख्न सक्नेलाई साक्षर मानिनेछ ।यसैगरी, साक्षर व्यक्तिले सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक संकेत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन तथा बैँक भौचर भराइ र चेक खिचाइ गर्न सक्नु पर्नेछ । माथिमा मापदण्डमा ५० प्रतिशत समकक्षता हासिल गर्न सक्नेलाई साक्षर घोषित गरिनेछ ।यो समाचार सौर्य दैनिकमा प्रकाशित छ ।