प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायुः प्रधानमन्त्री

२४ बैशाख २०७७, बुधबार १३:४६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनु भएको छ ।प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पार्नु भएको छ ।

नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारका काम अगाडि बढिरहेको जनाउँदै उहाँले सरकारका प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास पनि उहाँले व्यक्त गर्नु भएको छ ।

संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्ने प्रवृत्ति समाजमा बढिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक–अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।