प्रहरीले आत्मरक्षाका लागि गोली चलायोः गृहमन्त्री थापा

९ असार २०७६, सोमबार ११:३८

काठमाडौं , गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेलले प्रहरीलाई हमला गरेकोले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताउनु भएको छ । संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित हुनु भएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताउनु भएको हो ।

सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रतिनिधीले जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउन विप्लव समूह सक्रिय रहेको भन्ने जनगुनासोको आधारमा प्रहरीले गस्ती निगरानी बढाएको भन्दै असार ५ गते दिउँसो २ बजे प्रहरी गस्ती रहेको बेला लालबन्दीमा अन टेष्ट लेखिएको दुईवटा मोटरसाइकलमा आएका चार जनाले प्रहरी टोली देख्नासाथ गोली चलाएको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताउनु भयो । उक्त घटनामा प्रहरीको गोली लागेर विप्लव समूहका नेता कुमार पौडेल मारिएको मन्त्री थापाले समितिलाई जानकारी गराउनु भयो । त्यस्तै घटनामा अर्का एक जनालाई पनि गोली लागेको र गोली लागेको व्यक्ति र अन्य दुई जना जंगलतर्फ भागेकोले खोजी जारी रहेको प्रहरीले जनाएको छ।