प्रहरीलाई घुस दिएको आरोपमा एक महिला पक्राउ

१३ पुष २०७६, आईतवार १४:३८

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने बीरगंज महानगरपालिका वडा नं ३ छपकैयाकी अम्बेया खातुन रहेको आयोगले जनाएको छ ।
भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिएपछि अम्बेयाले उक्त आयातित वस्तु छुटाउन तथा आगामी दिनमा सहजीकरणका लागि २८ हजार रुपियाँ घुस दिन खोजेपछि पक्राउ गरेको आयोगले जनाएको छ । बाराको जीपपुर सिमरा उपमहानगरपालिका वडा नं ७ स्थित ईलाका प्रहरी कार्यालय, जीतपुरमा चेकजाँचको क्रममा उक्त सामान प्रहरीले नियन्त्रणमा लिएको थियो । घुस दिन पुगेकी अम्बेयालाई प्रहरीले तात्कालै नियन्त्रणमा लिएर आयोगमा बुझाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।(गोरखापत्र अनलाइन )