प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आइतबार

१९ मंसिर २०७५, बुधबार १५:००

काठमाडौं ।

संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका ४ देशका राजदूतको सुनुवाइ मंसिर २३ गते आइतबार गर्ने भएको छ । समितिको आज ९बुधबार० सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदूत सिफारिस निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यको आइतबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

समितिको बैठकले शुक्रबार उजुरीकर्तासँग र पूर्व राजदूतहरुसँग राजदूतको योग्यता र क्षमताका सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको छ । एक जना उजुरीकर्ताको उजुरी समितिमा परेकाले शुक्रबार नै सो उजुरीका सम्बन्धमा पनि छलफल गर्न लागिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए । राष्ट्रको मर्यादा समेत राख्नुपर्ने भएकाले राजदूतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदूतहरुसँग पनि छलफल गर्ने निर्णय गरिएको पनि समितिले स्पष्ट पारेको छ ।

सरकारले सिफारिस गरेका चार राजदूतको उमेर हदमाथि प्रश्न उठाउँदै एक जनाको उजुरी परेको छ । राजदूत नियुक्तिका लागि कम्तिमा ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेमा अन्यथा भएको उजुरीमा उल्लेख गरिएको छ । संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका राजदूतहरुको योग्यता, क्षमता र कार्ययोजनाबारे सुनुवाइ गरेपछि सो सिफारिस अनुमोदन गर्ने–नगर्ने निर्णय लिने संवैधानिक व्यवस्था छ ।