प्रश्नपत्र सार्वजनिक गर्नेलाई कारबाही हुन्छः शिक्षामन्त्री पोखरेल

१६ चैत्र २०७५, शनिबार १४:२१

काठमाडौ , प्रदेश, २ मा माध्यमिक शिक्षा परीक्षा एसईई प्रश्नपत्र निरन्तर बाहिरिएपछि बाँकी विषयका परीक्षा स्थगित भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले बाँकी विषयको परीक्षा स्थगित गरेको हो ।

प्रदेश, २ मा बिहीबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो । सो विषयको परीक्षा बोर्डले रद्ध गरिसकेको छ । शुक्रबार हुने भनिएको सामाजिक विषयको पनि परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित भएको थियो ।

निरन्तर प्रश्नपत्र बाहिरिएपछि बोर्डले साधारण र प्राविधिक दुवैतर्फका विषयको परीक्षा स्थगित गरेको हो । साधारणतर्फ तीन विषयको परीक्षा बाँकी थियो । शुक्रबारसम्म दुई विषयको परीक्षा रद्द भइसकेको छ । प्रदेश, २ मा बाँकी विषयको प्रश्नपत्र समेत संकास्पद अवस्थामा रहेको पाइएपछि परीक्षा स्थगित गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार साँझ पत्रकार सम्मेलनमा परीक्षाको तयारी गरेर बसेका परीक्षार्थीहरुलाई परेको मर्का, असुविधा र मनोवैज्ञानिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले अपराधिक कार्यमा संलग्न जो सुकै भए पनि कारबाही गरिछाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्थगित भएका विषयको परीक्षा चैतभित्रै सकिने गरी कार्य तालिका आउने बताए ।

बोर्डले रद्ध भएको विज्ञान विषयको परीक्षा २२ चैतमा गर्ने निर्णय गरिसकेको छ । स्थगित भएका विषयको पुनः परीक्षाको कार्यातालिका आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिमा छापिएको छ ।