प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

२८ आश्विन २०७५, आईतवार १८:४०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले सुवेदीलाई आइतबार उनकै कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उपभोक्ता समितिमार्फत् निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । त्यसैको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । सुवेदीमाथि थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।