प्रधानमन्त्री: म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर

१९ माघ २०७७, सोमबार १८:२५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मधेश तथा देशको विकासको संकल्प लिएर अगाडि बढिरहेको दाबी गरेका छन्।नेकपा र प्रधानमन्त्री ओली मधेश विरोधी रहेको भ्रम फैलाइएको भन्दै आफू मधेश विकासको अठोटका साथ अगाडि बढिरहेको दाबी गरे।

धनुषाको ढल्केबरमा मुलुककै सबभन्दा बढी क्षमताको विद्युत सबस्टेसनको उद्घाटनपछिको सम्बोधनमा प्रधानमन्त्री ओलीले आफू मधेशको विकास र समृद्धिको पक्षमा रहेको बताए।

उनले अबको केही दिनमा नेपालले अब भारत, बंगलादेशसहित दक्षिण एसियाका देशहरूलाई बिजुली बेच्न सक्ने समेत दाबी गरे।‘मधेशमा मलाई मधेश विरोधी नेताको रूपमा मधेशी जनतासमक्ष चित्रण गरिएको छ,’ उनले भने, ‘मलाई मधेश विरोधी भन्नेहरूलाई म चुनौती दिन्छु, मैले मधेशका लागि गरेका विकास मधेशमा गरेर देखाउनुस्।’

उनले स्वयंलाई मधेश विरोधी भन्ने नेताहरूलाई डुमको छोरा वा चमारको छोरालाई काँधमा बोक्न चुनौती दिए।

‘तपाईंहरूले यहाँका कुनै नेतालाई दलितका छोराछोरीलाई छोएको हेर्नु भएको छ, उनीहरूलाई काखमा लिएको देख्नु भएको छ ?,’ उनले भने, ‘यदि उहाँहरू मधेशप्रेमी हुनुहुन्छ भने आफ्नै सन्तानजस्तै ती बच्चाहरूलाई पनि काँधमा उठाउनु पर्थ्यो नि!, खोक्रा नारा लगाएर मात्रै हुँदैन, काम पनि गरेर देखाउनुपर्छ।’ मधेशको विकासका लागि कृषि आधुनिकीकरणमा सरकारले जोड दिएको बताउँदै प्रधानमन्त्री ओलीले खेत खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि कोसीको पानी तराई झार्दैछौं’, उनले भने, ‘खेत खेतमा सिँचाइको सुविधाका लागि पहाड छेडेर कोसी नदीलाई मधेसमा ल्याउँदैछ।’

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने दाबी गरेका छन्।