प्रधानमन्त्रीको वास्तविक चरित्र पर्दाफास भयोः नेतृ खनाल

२७ बैशाख २०७७, शनिबार १७:४७

काठमाडौ , नेपाली कांग्रेसकी महासमिति सदस्य रिता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही कदम अब जनताले नसहने चेतावनी दिनु भएको छ । उहाँले प्रधानमन्त्रीको बोली र व्यवहारमा भिन्नता भएको भन्दै पटकपटकका जनघाती र राष्टघाती कदमले प्रधानमन्त्रीको वास्तविक चरित्र पनि पर्दाफास भएको टिप्पणी गर्नु भयो ।
नेतृ खनालले आज फेसबुकमा स्टाटस लेख्दै सरकारका प्रत्येक गतिविधिलाई नेपाली जनताले नजिकबाट नियालिरहेकाले अब सहनुको पनि सीमा नाघेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्रीलाई तानाशाही, अधिनायकवादी र राष्टघातीसमेत भएको टिप्पणी गर्नु भयो । सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा लगाएर जनतालाई झुक्याउन र अलमलमा पार्न खोजेको भन्दै उहाँले सरकारले नागरिकको जीवन सुरक्षा गर्न नसकेको भन्दै आलोचना गर्नु भएको छ । कोरोना भाइरसका कारण विदेशमा रहेका नेपाली स्वदेश फर्कन चाहेपनि सरकारले वेवास्ता गरेको भन्दै नेतृ खनालले प्रधानमन्त्री सामान्य मानवीयता समेत गुमाएको आरोप लगाउनु भएको छ । विदेशमा बसेका नेपालीहरु छटपटाइरहँदा पनि सरकारले वेवास्ता गरेको भन्दै उहाँले त्यहाँ रहँदा नेपालीको अपमान र विभेद भएको स्टाटसमा उल्लेख गर्नु भएको छ ।
भारतले शुक्रबार लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गर्नुले नेपालको अपमान भएको उहाँको बुझाई छ । प्रधानमन्त्रीको भारत भक्तिको कारण नेपालमाथि भारतले सधैं थिचोमिचो गर्दै आएको भन्दै विगतमा सरकारले आफ्नो अडान नराखेकाले छिमेकी देशहरुले पटकपटक हामीमाथि आक्रमण र हेपाह प्रवृत्ति देखाउँदै आएको उहाँको ठम्याई छ । यसअघि नै भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता भूभागलाई अतिक्रमण गर्दा पनि प्रधानमन्त्री चुपचाप बसेको परिणाम नै यसको प्रमुख कारण भएको उहाँको भनाई छ । शुक्रबार सिंहदरवार अघि चाइनिज नागरिकले नेपालका सुरक्षाकर्मीमाथि आक्रमण गर्नुले नेपालको वेइज्जत भएको बताउनु भयो ।