“प्रधानमन्त्रीको भ्रमणले नेपाल-भारत सम्बन्ध नयाँ युगमा” : विवेकशील साझा पार्टी

२६ चैत्र २०७४, सोमबार ०८:१८

चैत २६, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणले नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुगेको विवेकशील साझा पार्टीले ठहर गरेको छ ।

नेपालको विकाश र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारीलाई उसले स्वागत गरेको छ । साथै प्रधानमन्त्री ओली र नेपाली भ्रमणदलका सबै सदस्यहरूलाई विवेकशील साझाले बधाई दिएको छ ।

प्रवक्ता डा. सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वदेश फर्केपछिको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख भएअनुसार नै यो भ्रमणले नेपाल-भारत सम्बन्धलाई समानताको आधारमा सौहार्दता र पारस्पारिक विश्वासको नयाँ उचाइमा पुर्‍याएको हामीले पनि ठानेका छौं ।’

समझदारीमा उल्लेख भएका जलमार्ग र रेलमार्गका आयोजनाहरूको प्राविधिक तथा व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न विवेकशील साझाले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको प्राविधिक तयारी र कार्यान्वयनमा सतर्कताका साथ तदारुकता अपनाउन नेपाल सरकारलाई आग्रह गरिएको छ । साथै प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गका लागि दीर्घकालीन सोचसहित हाल विश्वमा प्रचलित आधुनिक रेल प्रविधि अपनाउने तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

विवेकशील साझाले नेपाल-भारत सीमा विवाद, सीमा क्षेत्रका भारतीय बाँधले नेपालमा सिर्जित बाढीको समस्या, अलपत्र परेका भारतीय सहयोगमा निर्माणाधीन आयोजना, र भारतसँग नेपालको बढ्दो व्यापार घाटा लगायतका समस्याको यथाशीघ्र समाधानको पहल गर्न आग्रहसमेत गरेको छ ।